onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

फाइनल प्रवेशका लागि दिल्लीले मुम्बईसँग खेल्ने

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै पहिलो क्वालिफायरका लागि छ्नोट भएको छ ।

सोमबार राति भएको खेलमा दिल्लीले बेंगलोरलाई ६ विकेटले पराजित गरेको थियो । यो जितसँगै १६ अंकसाथ दिल्ली क्वालिफायर भएको हो । अब फाइनल प्रवेशका लागि दिल्लीले पहिलो क्वालिफायरमा बिहिबार गत संस्करणको च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्सको सामना गर्नेछ । मुम्बई १८ अंक जोड्दै पहिलो स्थानमा रहदै लिग चरणको समापन गरेको टिम हो ।

यता दिल्लीसँग पराजित भएपनि बेंगलोर पनि प्ले अफमा पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा दिल्लीसँग फराकिलो अन्तरले पराजित नहुँदा नेट रनरेटमा माथि रहदै बेंगलोर प्ले अफमा पुगेको हो । १४ अंकका साथ प्ले अफ पुगेको बेंगलोरले एलिमिनेटरमा हैदराबाद र कोलकताबीचको विजेतासँग खेल्नेछ ।

यता खेलमा बेंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय पारी खेलेका थिए । जसअन्तर्गत रहाणेले ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाएका थिए ।

यस्तै कप्तान श्रेयस एयरले ७ रन ,पृथ्वी शाले ९ रन , मार्कुस स्टोनिस १० रन बनाउँदा रिषभ पन्तले ८ रनमा अजिवित रहेका थिए ।

बलिङतर्फ बेंगलोरका शाहबाज अहमदले २ तथा वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

बेंगलोरका लागि ओपनर ब्याट्सम्यान देबदुत पडीकलले सर्वाधिक ठूलो पारी खेले । अर्धशतकीय पारी खेलेका उनले ४१ बलको सामना गर्दै ५ चौकासहित ५० रन बनाए ।

यस्तै एबी डी भिलियर्सले ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए भने शिबम दुबेले १७ रन र जोस फिलिपेले १२ रन जोडेका थिए ।

बलिङतर्फ दिल्लीका एनरिच नोर्टजेले सर्वाधिक ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका उनले आफ्नो ४ ओभरमा ३३ रन खर्चिएर उक्त विकेट लिएका थिए । एनरिचसँगै कागिसो राबडाले २ तथा आश्विनले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्