मुम्बईसँग दिल्लीको लज्जास्पद हार

मुम्बईसँग दिल्लीको लज्जास्पद हार

एजेन्सी – साविकको च्याम्पियन्स मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन्स प्रिमियर लिग ( आईपीएल ) मा नवौं जित हासिल गरेको छ ।

प्रतियोगितामा नवौं जित हासिल गर्ने क्रममा मुम्बईले शनिबार दिनको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ ।

खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ११ रनको विजयी लक्ष्यलाई मुम्बईले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईले अर्को सानदार जित हासिल गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान इशान किशनले सानदार ब्याटिङ गरे । अविजित रहेका उनले ४७ बलको सामना गर्दै ८ चौका र ३ छक्कासहित ७२ रन बनाए ।

यस्तै सुर्यकुमार यादबले पनि अविजित रहदै १२ रनको योगदान गरे । त्यसअघि पहिलो विकेटका रुपमा आउट हुन् पुगेका अर्का ओपनर ब्याट्सम्यान क्विन्टन डि कोकले २६ रनको योगदान गरेका थिए। १०.२ ओभरमा टिमको स्कोर ६८ रन हुँदा आरीच नोर्त्जेको बलमा आउट हुन् पुगेका उनले २८ बलको सामना गर्दै २ चौका समेत प्रहार गरे ।

त्यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

प्रतियोगितामा निकै खराब ब्याटिङ गर्ने क्रममा दिल्लीका लागि कप्तान श्रेयर अय्यरले सर्वाधिक २५ रनको योगदान गरेका थिए ।२९ बलको सामना गरेका उनले १ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै टिमका लागि विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले २१ तथा आश्विनले र कसिगो रबाडाले समान १२/१२ रन बनाएका थिए ।

दिल्लीको ब्याटिङ ध्वस्त पार्ने क्रममा मुम्बईका ट्रेंट बोल्ट र जसप्रीत बुमराहले समान ३/३ विकेट हात पारे । भने नेथन कूल्टर-नाइल र राहुल चाहरले पनि १/१ विकेट लिएका थिए ।

यो जितसँगै मुम्बई १८ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । र पहिलो क्वालिफायरका लागि पक्का समेत गरेको छ। यता पराजित दिल्लीका लागि भने केहि असहज देखिएको छ । अब दिल्लीले प्ले अफमा स्थान पक्का गर्न अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई जसरी पनि हराउनु पर्ने अवस्था सिर्जना भएको छ । प्रतियोगितामा १३ खेल खेलेको दिल्लीको अहिले अंकतालिकामा १४ अंक रहेको छ ।