onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बई प्ले अफमा

एजेन्सी – साविकको च्याम्पियन समेत रहेको मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन्स प्रिमियर लिग (आईपीएल ) को प्ले अफमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

बुधबार प्रतियोगिताको ४८ औं खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै मुम्बई प्रतियोगिताको प्ले अफमा पुग्न सफल भएको हो ।

प्रतियोगितामा १२ खेल खेलिसकेको मुम्बईले १६ अंक जोड्दै अहिले अंकतालिकाको शीर्ष स्थानमा समेत रहेको छ । भने पराजित हुन् पुगेको बेंगलोर पनि १२ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यता खेलमा बेंगलोरले प्रस्तुत गरेको १ सय ६५ रनको विजयी चुनौतीलाई मुम्बईले पाँच बल बाँकी रहदै मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।

उसका लागि सुर्य कुमार यादवले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ४३ बलको सामना गर्दै १० चौका र ३ छ्क्कासहित ७९ रन बनाएका थिए ।

यस्तै ईशान किशनले २५ रन , क्विन्टन डि कोकले १८ रन तथा हार्दिक पान्डेयाले १७ रन बनाएका थिए ।

बलिङतर्फ बेंगलोरका मोहम्मद सिराज , युजभेन्द्र चहलले समान २/२ विकेट लिएका थिए । भने क्रिस मोरिसले पनि १ विकेट हात पारेका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बेंगलोरका लागि ओपनर ब्याट्सम्यान देवदत्तले सर्वाधिक ठूलो योगदान गरे । ४५ बलको सामना गरेका उनले १२ चौका र १ छ्क्कासहित ७४ रन बनाएका थिए ।

यस्तै टिमका लागि अर्का ओपनर ब्याट्सम्यान
जोस फिलिपले ३३ तथा एबी डि भिलियर्सले १५ रन बनाउँदा कप्तान विराट कोहलीले ९ रन बनाएका थिए ।

बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले ३ तथा राहुल चाहर , किरोन पोलार्ड र ट्रेंट बोल्टले समान १/१ विकेट लिएका थिए ।

यता प्रतियोगितामा बिहिबार चेन्नई सुपर किंग्स र कोलकता नाइट राइडर्सबीच प्रतिष्पर्दा हुनेछ । नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुने खेल दुबईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्