onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मुम्बईमाथि राजस्थानको सहज जित : बेन स्टोक्सको शतकीय पारी

एजेन्सी । राजस्थान रोयल्सका अलराउन्डर बेन स्टोक्सले शतकीय पारी खेलेपछि राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई सहजै पराजित गरेको छ ।

गएराति भएको खेलमा राजस्थानले सहजै जित हासिल गर्ने क्रममा मुम्बईलाई ८ विकेटले पराजित गरेको छ ।

खेलमा १ सय ९६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको राजस्थानले उक्त चुनौतीलाई १० बल बाँकी रहदै मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।

इन्डियन प्रिमियर लिग (आईपीएल ) मा पाँचौ जित हासिल गर्ने क्रममा राजस्थानका लागि बेन स्टोक्स र सन्जु सामसनले उत्कृष्ट साझेदारी गरेका थिए ।

१.५ ओभरमा टिमको स्कोर १३ रन हुँदा ओपनर ब्याट्सम्यान रोबिन उथप्पालाई १३ रनमा गुमाएको राजस्थानले दोस्रो विकेटका रुपमा कप्तान स्मिथलाई ४.४ ओभरमा टिमको स्कोर ४४ रन हुँदा गुमायो । उनले ११ रन बनाए । यी दुबैलाई जेम्स प्याटिन्सनले पभेलियन फर्काईदिएका थिए ।

यसरी दुई विकेट गुमाईसकेपछि राजस्थानलाई बेन स्टोक्स र सन्जुले जिततर्फ डोराए । त्यस क्रममा सानदार ब्याटिङ गरेका बेन स्टोक्सले ६० बलको सामना गर्दै १४ चौका ३ छ्क्कासहित १ सय ७ रन बनाए ।

यस्तै स्टोक्सलाई साथ दिएका सन्जुले पनि अर्धशतक पूरा गरे । ३१ बलको सामना गरेका उनले ४ चौका र ३ छ्क्कासहित ५४ रन बनाए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा हार्दिक पान्डेयाले आक्रमक ब्याटिङ गरेका थिए । अविजित रहेका उनले २१ बलको सामना गर्दै २ चौका र ७ छ्क्कासहित ६० रन बनाएका थिए ।

यस्तै टिमका लागि सुर्य कुमार यादवले ४० रन , सौरभ तिवारीले ३४ तथा ईशान किशनले ३७ रन बनाएका थिए ।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले समान २/२ विकेट लिएका थिए भने हार्दिक त्यागीले पनि १ विकेट लिएका थिए ।

यो जितसँगै १२ खेल खेलेको राजस्थानले १० अंक जोड्दै प्ले अफ समीकरणलाई जिवितै राखेको छ । अब राजस्थानले किंग्स इलाभेन पन्जाव र कोलकता नाइट राईडर्ससँग खेल्न बाँकी रहेको छ ।

यता राजस्थानसँग पराजित भएपनि मुम्बई ११ खेलबाट १४ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमै यथावत रहेको छ ।

अब प्रतियोगितामा सोमबार कोलकता र पन्जावबीच प्रतिष्पर्दा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाह क्रिकेट रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्