कोलकतासँग दिल्लीको लज्जास्पद हार
एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो ११ औं खेलमा पराजित हुन् पुगेको छ ।
शनिबार भएको दिनको पहिलो खेलमा दिल्ली कोलकता नाइट राईडर्ससँग लज्जास्पद हार ब्यहोर्ने क्रममा ५९ रनले पराजित हुन् पुगेको छ ।
खेलमा कोलकताले प्रस्तुत गरेको १ सय ९५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको दिल्ली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ३५ रनमा सिमित हुन् पुग्दा नतिजा कोलकताले आफ्नो पक्षमा पार्न सफल भयो ।
विशाल योगफललाई पछ्याएको भए पनि उसका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४७ तथा रिषभ पन्तले २७ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिमले ठूलो हार ब्यहोर्न बाध्य भयो ।
दिल्लीको ब्याटिङ ध्वस्त पार्ने क्रममा कोलकताका वरुण चक्रवर्तीले सानदार बलिङ गरे । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेका उनले मात्र २० रन खर्चिएर ५ विकेट लिएका थिए ।
भने प्याट कमिंन्सले ३ तथा लकी फर्ग्युसनले १ विकेट लिएका थिए ।
त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।
टिमले विशाल योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान नितिश रानाले सानदार प्रदर्शन गरे । इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले ५३ बलको सामना गर्दै १३ चौका र १ छ्क्कासहित ८१ रन बनाएका थिए ।
यस्तै मध्य क्रममा ब्याटिङ गरेका सुनिल नारायणले पनि राम्रो ब्याटिङ गरे । ३२ बलको सामना गरेका उनले ६ चौका र ४ छ्क्कासहित ६४ रन बनाएका थिए ।
यी बाहेक कप्तान इयोन मोर्गन १७ रनमा अविजित रहदा राहुल त्रिपाठीले १३ रन बनाएका थिए ।
बलिङतर्फ दिल्लीका आनिच नोर्त्जे ,कासिगो रबाडा र मार्कस स्टोनिसले समान २/२ विकेट लिएका थिए ।
यो जितसँगै ११ खेल खेलेको कोलकताले अंकतालिकामा १२ अंक जोड्दै प्ले अफ समीकरणलाई थप जिवितै राखेको छ । भने पराजित हुन् पुगेको दिल्ली ११ खेलबाट १४ अंक जोडेको छ ।