onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पन्जावले दिल्लीलाई हरायो

एजेन्सी । किंग्स इलाभेन पन्जावले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) मा चौथों जित हासिल गरेको छ ।

गएराति भएको प्रतियोगिताको ३८ औं खेलमा पन्जावले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको थियो ।

खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ६५ रनको विजयी चुनौतीलाई पन्जावले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई महत्वपूर्ण जित दिलाउने क्रममा उसका लागि निकोलस पूरनले अर्धशतकीय पारी खेले । २८ बलको सामना गरेका उनले ६ चौका र ३ छ्क्कासहित ५३ रन बनाए ।

यस्तै ग्लेन म्याक्सवेलले ३२ तथा क्रिस गेलले २९ र कप्तान लोकेश राहुलले १५ रन बनाउँदा दिपक हुड्डा र जेम्स नीशमले अविजित रहदै क्रमशः १५ र १० रन बनाएका थिए ।

बलिङतर्फ दिल्लीका कासिगो रबाडाले २ तथा अक्षर पटेल र रबिचन्दन आश्विनले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

दिल्लीका लागि ओपनर ब्याट्सम्यान शिखर धवनले शतकीय पारी खेले । सानदार ब्याटिङ गरेका उनले ६१ बलको सामना गर्दै १२ चौका र ३ छ्क्कासहित १ सय ६ रनमा अविजित रहेका थिए ।

यस्तै टिमका लागि अन्यले भने त्यति सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । जसमा श्रेयस अय्यर र रिषभ पन्तले समान १४/१४ रन बनाउँदा मार्कस स्टोनिसले ९ रन , शिम्रोन हेटमेयरले १० रन र पृथ्वी शाले ७ रन बनाएका थिए ।

बलिङतर्फ पन्जावका मोहम्मद शामीले २ तथा ग्लेन म्याक्सवेल ,जेम्स नीशम र मुरुगन अश्विनले समान १/१ विकेट लिएका थिए ।

यो जितसँगै १० खेल खेलेको पन्जाव ८ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने पराजित हुन् पुगेको दिल्ली पहिलो स्थानमा यथावतनै रहेको छ । १० खेल खेलेको दिल्लीले १४ अंक जोडेको छ ।

यता प्रतियोगितामा आज बुधबार कोलकता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिष्पर्दा हुँदैछ । आबुधाबीस्थित शेख जायद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्