चेन्नईमाथि राजस्थानको सानदार जित
एजेन्सी । जोस बटलर चम्किँदा युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा राजस्थान रोयल्सले चौथों जित हासिल गरेको छ ।
राजस्थानले चौथों जित हासिल गर्ने क्रममा सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।
खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय २६ रनको विजयी चुनौतीलाई राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको सानदार जितमा जोस बटलरले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ४८ बलको सामना गर्दै ७ चौका र २ छ्क्कासहित ७० रन बनाए ।
त्यसअघि बेन स्टोक्सले १९ रन बनाउँदा कप्तान स्टिभ स्मिथले २६ रनमा अविजित रहेका थिए ।
बलिङमा चेन्नईका दिपक चाहरले २ तथा जोस हेझलउडले १ विकेट लिएका थिए ।
त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय २५ रनमा सिमित हुन् पुगेको थियो ।
खराब ब्याटिङ गरेको चेन्नईका लागि रविन्द्र जडेजाले सर्वाधिक ३५ रनको पारी खेले । अविजित रहेका उनले उक्त रन बनाउने क्रममा ३० बलको सामना गर्दै ४ चौका समेत प्रहार गरे ।
यस्तै टिमका लागि कप्तान महेन्द्र सिंह धोनीले २८ तथा साम कुरानले २२ र रायुडुले १३ रन बनाएका थिए ।
बलिङमा राजस्थानका लागि जोफ्रा आर्चर , कार्तिक त्यागी , श्रेयस गोपाल र राहुल तेवाटियाले समान १/१ विकेट लिएका थिए ।
यो जितसँगै राजस्थान १० खेलबाट ८ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । भने पराजित हुन् पुगेको चेन्नई ६ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।
यता प्रतियोगितामा आज मंगलबार किंग्स इलाभेन पन्जावले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।