शिखर धवनको शतकमा दिल्लीको अर्को उत्कृष्ट जित
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा दिल्ली क्यापिटल्सले सातौं जित हासिल गर्न सफल भएको छ ।
दिल्लीले सातौं जित हासिल गर्ने क्रममा शनिबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।
खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय ८० रनको विजयी लक्ष्यलाई दिल्लीले एक बल बाँकी रहदै ५ विकेट गुमाएर भेटाएको थियो ।
दिल्लीको जितमा ओपनर शिखर धवनले सानदार ब्याटिङ गरे । ५८ बलको सामना गरेका उनले १४ चौका र १ छ्क्कासहित १ सय १ रनमा अविजित रहे । उनको टि – ट्वान्टीमा पहिलो शतक समेत हो ।
यस्तै टिमका लागि श्रेयस अय्यरले २३ रन बनाउँदा मार्कस स्टोइनिसले २४ र अक्षर पटेलले २१ रन बनाएका थिए ।
बलिङतर्फ चेन्नईका दिपक चाहरले २ विकेट लिए भने साम कुरान , शार्दुल ठाकुर र ब्राबोले समान १/१ विकेट हात पारेका थिए ।
त्यसअघि शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
चेन्नई यो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान फाफ डु प्लेसिसले सर्वाधिक ठूलो पारी खेले ।
१४.४ ओभरमा टिमको स्कोर १ सय ९ रन हुँदा तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले ४७ बलको सामना गर्दै ६ चौका र २ छ्क्कासहित ५८ रन बनाएका थिए ।
त्यसअघि टिमले पहिलो ओभरको तेस्रो बलमा साम कुरानलाई शुन्य रनमा गुमाएको थियो । त्यसपछि ११.४ ओभरमा टिमको स्कोर ८७ रन हुँदा चेन्नईले दोस्रो विकेटका रुपमा शेन वाटसनलाई गुमाएको थियो ।
अनिरिक नोर्त्जेको बलमा आउट हुनुअघि वाटसनले २८ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ३६ रन बनाएका थिए ।
यसबीचमा कप्तान महेन्द्र सिंह धोनी पनि ३ रनमा आउट हुँदा अंबाती रायुडू र रविन्द्र जडेजाले अविजित रहदै क्रमशः ४५ र ३३ रन बनाएका थिए ।
बलिङतर्फ दिल्लीका अनिरिक नोर्त्जेले २ विकेट लिए भने कासिगो रबाडा र तुषार देशपांडेले पनि १/१ विकेट हात पारेका थिए ।
यो जितसँगै दिल्ली ९ खेलबाट १४ अंक जोड्दै अंकतालिकाको पहिलो स्थानमा उक्किएको छ । भने पराजित हुन् पुगेको चेन्नई समान ९ खेलबाट ६ अंकसहित अंकतालिकाको छ्ठौं स्थानमा रहेको छ ।