चेन्नईबाट दिल्लीलाई बलियो लक्ष्य प्राप्त
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो आठौं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सको सामना गरिरहेको छ ।
शारजाह क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको छ ।
चेन्नई यो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान फाफ डु प्लेसिसले सर्वाधिक ठूलो पारी खेले ।
१४.४ ओभरमा टिमको स्कोर १ सय ९ रन हुँदा तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले ४७ बलको सामना गर्दै ६ चौका र २ छ्क्कासहित ५८ रन बनाएका थिए ।
त्यसअघि टिमले पहिलो ओभरको तेस्रो बलमा साम कुरानलाई शुन्य रनमा गुमाएको थियो । त्यसपछि ११.४ ओभरमा टिमको स्कोर ८७ रन हुँदा चेन्नईले दोस्रो विकेटका रुपमा शेन वाटसनलाई गुमाएको थियो ।
अनिरिक नोर्त्जेको बलमा आउट हुनुअघि वाटसनले २८ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ३६ रन बनाएका थिए ।
यसबीचमा कप्तान महेन्द्र सिंह धोनी पनि ३ रनमा आउट हुँदा अंबाती रायुडू र रविन्द्र जडेजाले अविजित रहदै क्रमशः ४५ र ३३ रन बनाएका थिए ।
बलिङतर्फ दिल्लीका अनिरिक नोर्त्जेले २ विकेट लिए भने कासिगो रबाडा र तुषार देशपांडेले पनि १/१ विकेट हात पारेका थिए ।
अब चेन्नईले प्रस्तुत गरेको १ सय ८० रनको विजयी चुनौतीलाई पछ्याउँदै दिल्लीले अबको केही बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।