सिजनको बीचमा कप्तान बनेका खेलाडीहरु
एजेन्सी । युएईमा अहिले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) जारी छ । जस अन्तर्गत प्रतियोगिता अहिले मध्य भन्दा पनि अगाडी बढिसकेको छ ।
यस्तोमा अहिले आईपीएल स्वाभाविक रुपमा चासो र चर्चाको विषय बनेको छ । सदाझै यसपटक पनि आईपीएलको त्यो चमक घटेको छैन ।
विश्वको सर्वाधिक रुचाईएको क्रिकेट प्रतियोगिता समेत भएर होला । समर्थक र क्रिकेट पारखीमा खेल मात्र होइन त्यससँग जोडिएका अन्य कुराहरुमा पनि विषेश चासो र रुचि जाने गर्छ ।
यसबीचमा शुक्रबार कोलकता नाइट राइडर्सका दिनेश कार्तिकले कप्तानी इयोन मोर्गनलाई सुम्पिए । आफू ब्याटिङमै केन्द्रित हुने बताउँदै उनले मोर्गनलाई प्रतियोगिताको बीचमै कप्तानी हस्तान्तरण गरेका थिए । जून आफैमा दिनेशको मोर्गनमाथिको सम्मान समेत हो ।
सन् २००८ देखि सुरु भएको आईपीएलमा यसरी बीचमै कप्तानी परिवर्तन हुने क्रम नौलो प्रयोग भने पक्कै होइन । जसमा ठूला खेलाडीले युवालाई मौका दिएको धेरै उदाहरण रहेका छन् ।
आईपीएलको पहिलो सिजनमा मुम्बईले हरभजनको ठाँउमा सान पोलाकलाई कप्तानीको जिम्मेवारी सुम्पेको थियो ।सोही सिजन डेक्कन चार्जर्सले वीवीएस लक्ष्मणको ठाउँमा एडम गिलक्रिटलाई नयाँ कप्तान बनाएको थियो ।
अर्को वर्ष बेंगलोरले केविन पिटरजनलाई हटाएर भारतीय खेलाडी अनिल कुंब्लेलाई टिमको कप्तानी सुम्पेको थियो । यस्तै सन् १०१२ मा डेक्कन चार्जर्सले श्रीलंकाका कुमार संगकारालाई हटाएर केमरुन वाइटलाई कप्तानीको जिम्मेवारी प्रदान गरेको थियो ।
यसबीचमा आईपीएलको सर्वाधिक सफल टिम मुम्बईले सन् २०१३ मा रिकी पोन्टिङको ठाउँमा रोहित शर्मालाई कप्तान बनाउने निर्णय गरेको थियो । विश्व क्रिकेटका महान खेलाडी मध्यमा एक पर्ने अष्ट्रेलियन खेलाडी पोन्टिङको ठाउँमा युवा खेलाडी रोहितलाई कप्तानी सुम्पने त्यो आफैमा ठूलो निर्णय थियो ।
तर स्वयम् पोन्टिङलेनै रोहितलाई कप्तानी बनाउनु ठिक हुने बताउँदै टिम ब्यबस्थापनलाई सिफारिस गरेका थिए । पोन्टिङको विश्वास जसरी रोहित प्रती थियो । त्यसलाई उनले न्याय पनि गरे । त्यसबीचमा मुम्बईले उनकै कप्तानीमा ४ पटक आईपीएलको उपाधि समेत उचालिसकेको छ ।
यस क्रममा आईपीएलमा सिजनको बीचमै कप्तानी परिवर्तन भएका धेरै छन् । जसअन्तर्गत पुर्णे वारियर्सले एन्जेलो मैथ्युसको ठाउँमा आरोन फिन्चलाई ,हैदराबादले शिखर धवनको ठाउँमा डेरेन सेम्मीलाई कप्तान बनाएको थियो ।
सन् २०१५ मा राजस्थानले शेन वाटसनलाई हटाएर स्मिथलाई कप्तानी सुम्पेको थियो । अर्को वर्ष पन्जावले डेविट मुलरलाई प्रतिस्थापन गरेर मुरली विजयलाई टिमको नयाँ कप्तान बनाएको थियो ।
सन् २०१९ मा फेरी राजस्थानले अजिंक्य रहाणेलाई प्रतिस्थापन गरेर स्टिव स्मिथलाई टिमको कप्तानी सुम्पेको थियो । यस्तै दिल्लीले गौतम गम्भिरको ठाउँमा श्रेयस अय्यरलाई कप्तानीको जिम्मेवारी दिएको थियो ।
आईपीएल इतिहासमा सबैभन्दा कम उमेरका कप्तान बनेका श्रेयसले यसबीचमा टिमको स्तरलाई माथि उठाउन ठूलो भूमिका निर्वाह गरिरहेका छन् ।
यसरी कप्तानी परिवर्तनको चर्चा गरिरहँदा चेन्नई सुपर किंग्स मात्र एक मात्र यस्तो टिम हो जसले अहिले सम्म कप्तान परिवर्तन गरेको छैन । पहिलो संस्करण देखि अहिलेसम्म चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा खेलिरहेको छ ।