onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कमिंन्स र मोर्गनको उत्कृष्ट साझेदारीमा कोलकताको सम्मानजनक योगफल

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो आठौं खेलमा कोलकता नाइट राइडर्सले अहिले मुम्बई इन्डियन्सको सामना गरिरहेको छ ।

आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारण २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको छ ।

खेलमा तेस्रो ओभरको अन्तिम बलमा टिमको स्कोर १८ रन हुँदा ओपनर ब्याट्सम्यान राहुल त्रिपाठीलाई ब्यक्तिगत ७ रनमा गुमाएको कोलकताले थप १३ रन जोड्दा नितिश रानालाई पनि सस्तैमा गुमायो । उनले मात्र ५ रन बनाए ।

नितिश आउट भएपछि ७.३ ओभरमा टिमको स्कोर ४२ रन हुँदा अर्का ओपनर सुभमन गिल पनि आउट हुन् पुग्दा टिम सुरुवाती अवस्थामै दबाबमा आएको थियो ।

राहुल चहरको बलमा किरोन पोलार्डको हातबाट क्याच आउट हुनु अघि उनले २३ बलको सामना गर्दै २ चौका सहित २१ रन बनाए ।

यस्तै यसबीचमा विकेट किपर ब्याट्सम्यान दिनेश कार्तिक ४ रन बनाएर पभेलियन फर्किए । त्यसपछि आन्द्रे रसेल पनि १२ रन बनाएर आउट हुन् पुगे ।

१०.४ ओभरमा टिमको स्कोर ६१ रन हुँदा पाँच विकेट गुमाएको कोलकताले त्यसपछि भने राम्रो साझेदारी पायो । जसमा प्याट कमिंन्स र टिमका कप्तान इयोन मोर्गनले राम्रो साझेदारी गरे ।

टिमको इनिङलाई बढाउन महत्वपूर्ण साझेदारी गरेका मोर्गन र कमिंन्सले अविजित रहदै क्रमश: ३९ र ५३ रनको योगदान गरे ।

मोर्गनले उक्त रन बनाउने क्रममा २९ बलमा २ चौका र २ छ्क्का समेत प्रहार गरे । भने अर्धशतकीय पारी खेलेका कमिंन्सले ३६ बलको सामना गर्दै ५ चौका र २ छ्क्कासहित उक्त रन बनाएका थिए ।

बलिङतर्फ मुम्बईका राहुल चहरले २ तथा जसप्रित बुमराह , नाथन कुल्टर नाइल र ट्रेन्ट बोल्टले समान १/१ विकेट लिएका थिए ।

अब कोलकताले दिएको १ सय ४९ रनको विजयी चुनौतीलाई पछ्याउँदै मुम्बईले अबको केही बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्