onlinekhelkhabar.com

Complete website for Nepali Sports News

राजस्थानलाई हराउँदै दिल्ली पुन : शीर्ष स्थानमा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत ३० औं खेलमा राजस्थान रोयल्सलाई १३ रनले हराउँदै दिल्ली क्यापिटल्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

हालसम्म प्रतियोगितामा ८ खेल खेलिसकेको दिल्लीले ६ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यता दिल्लीसँग पराजित हुन् पुगेको राजस्थानको जारी प्रतियोगितामा यो पाँचौ हार हो । हालसम्म ८ खेल खेलेको राजस्थानले मात्र तीन खेल जितेको छ ।

यता बुधबार राति सम्पन्न खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ६२ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको राजस्थान निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४८ रनमा सिमित हुन् पुगेपछि खेल दिल्लीले आफ्नो पक्षमा पारेको थियो ।

राजस्थान खेलमा सुरुवाती अवस्था देखिनै आक्रमक शैलीमा प्रस्तुत भएको थियो । ओपनरद्वय जोस बटलर र बेन स्टोक्सले आक्रमक तरिकाले इनिङलाई अगाडी बढाएका थिए ।

यस बीचमा तेस्रो ओभरको अन्तिम बलमा टिमको स्कोर ३७ रन हुँदा बटलर ब्यक्तिगत २२ रनमा आउट हुन् पुगेका थिए । मात्र ९ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ३ चौका र १ छ्क्का प्रहार गरेका थिए ।

बटलर आउट भएपछि स्टोक्सलाई साथ दिन आएका स्टीवन स्मिथ भने निराशाजनक प्रदर्शन गरे । टिमका कप्तान समेत रहेका उनले मात्र १ रन जोडे ।

त्यसपछि तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका बेन स्टोक्सले ३५ बलको सामना गर्दै ६ चौकाको सहयोगमा ४१ रनको योगदान गरे ।

स्टोक्स आउट भएपछि सन्जु सामसनले २५ रन बनाउँदा रोबिन उथप्पाले पनि ३२ रन बनाएका थिए ।

बलिङतर्फ दिल्लीका अनिरिक नोर्त्जे र तुषार देशपांडेले समान २/२ विकेट लिएका थिए । भने कासिगो रबाडा , रविचंद्रन अश्विन र अक्षर पटेलले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

दिल्लीले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि कप्तान श्रेयस अय्यर र ओपनर ब्याट्सम्यान शिखर धवनले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेका थिए ।

त्यसअघि ओपनर ब्याट्सम्यान पृथ्वी शालाई शुन्य रन र अजिंक्य रहाणेलाई २ रनमा गुमाएको दिल्लीको पारीलाई त्यसपछि शिखर र श्रेयसले राम्रो अगाडी बढाएका थिए ।

जस अन्तर्गत यी दुईबीच तेस्रो विकेटका लागि ८५ रनको साझेदारी हुन् पुगेको थियो । ११.४ ओभरमा टिमको स्कोर ९५ रन हुँदा श्रेयस गोपालको बलमा कार्तिक त्यागिको हातबाट क्याच आउट हुन् पुगेका शिखरले ५७ रनको योगदान गरेका थिए ।

३३ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ६ चौका र २ छ्क्कासमेत प्रहार गरे ।

शिखर पछि दिल्लीले चौथो विकेटका रुपमा कप्तान श्रेयस अय्यरलाई गुमाएको थियो । १५.६ ओभरमा टिमको स्कोर १ सय ३२ हुँदा आउट हुन् पुगेका उनले ५३ रन बनाएका थिए ।

कार्तिक त्यागीको बलमा जोफ्रा आर्चरको हातबाट क्याच आउट हुनुअघि उनले उक्त रन बनाउने क्रममा ४३ बलको सामना गर्दै ३ चौका र २ छ्क्का प्रहार गरेका थिए ।

श्रेयस अय्यर आउट भएपछि मार्कस स्टोनिसले १८ रन थपे भने एलेक्स क्यारी र अक्षर पटेलले क्रमशः १४ र ७ रन बनाएका थिए ।

बलिङतर्फ राजस्थानका जोर्फा आर्चरले सर्वाधिक ३ तथा जयदेवले २ विकेट लिएका थिए । यस्तै कार्तिक त्यागी र श्रेयस गोपालले पनि १/१ विकेट लिएका थिए ।