
चेन्नईले हैदराबादलाई हरायो
एजेन्सी । साविकको उप – विजेता समेत रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो आठौं खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।
प्रतियोगितामा तेस्रो जित हासिल गर्ने क्रममा चेन्नईले हैदराबादलाई २० रनले हराएको छ ।
खेलमा चेन्नईले प्रस्तुत गरेको १ सय ६८ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४७ रनमा सिमित हुन् पुगेपछि खेल चेन्नईले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
खराब सुरुवात गरेको हैदराबादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेल्दै टिमलाई जित आशा जगाई दिएका थिए ।
३.३ ओभरमा टिमको स्कोर २३ रन हुँदा टिमले पहिलो विकेटका लागि कप्तान डेविट वार्नरलाई ब्यक्तिगत ९ रनमा गुमाएको थियो ।
वार्नर पछि हैदराबादले टिमको स्कोर २७ हुँदा अर्का भरपर्दा ब्याट्सम्यान मनिष पाण्डेलाई गुमाएको थियो । उनले मात्र ४ रन जोडे ।
त्यसपछि अर्का ओपनर तथा विकेट किपर ब्याट्सम्यान जोनी बेयरस्टो २३ रन बनाएर आउट हुन् पुगेपछि टिम थप दबाबमा आएको थियो ।
त्यस क्रममा केन विलियमसनले राम्रो ब्याटिङ गरे । इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले ३९ बलको सामना गर्दै ७ चौकासहित ५७ रन बनाए ।
यस्तै टिमका लागि प्रियाम गर्गले १६ रन , विजय सङ्खरले १२ रन र राशिद खानले १४ रन बनाएका थिए ।
बलिङतर्फ चेन्नईका लागि ब्राबो र कर्ण शर्माले समान २/ २ विकेट लिएका थिए । भने साम कुरान , रविन्द्र जडेजा र सार्दुल ठाकुरले पनि१/१ विकेट हात पारेका थिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
चेन्नईले बलियो योगफल बनाउने क्रममा उसका लागि शेन वाटसनले सर्वाधिक ठूलो पारी खेलेका थिए । ३८ बलको सामना गरेका उनले १ चौका र ३ छ्क्कासहित ४२ रन बनाएका थिए ।
यस्तै अम्बाती रायडुले पनि ४१ रन बनाउँदा साम कुरानले ३१ तथा कप्तान महेन्द्र सिंह धोनिले २१ रन बनाएका थिए । भने रविन्द्र जडेजा २५ रनमा अविजित रहेका थिए ।
बलिङतर्फ हैदराबादका सन्दीप शर्माले र खलिल अहमद र नटराजनले समान २/२ विकेट हात पारेका थिए ।
यो जितसँगै चेन्नई ८ खेलबाट ६ अंकसहित अंकतालिकाको छ्ठौं स्थानमा उक्लिएको छ । भने पराजित हुन् पुगेको हैदराबाद पनि ६ अंकसहित पाँचौ स्थानमा रहेको छ ।
अब प्रतियोगिता अन्तर्गत बुधबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।