onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कोलकतामाथि बेंगलोरको फराकिलो जित

एजेन्सी । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो सातौं खेलमा कोलकता नाइट राइडर्सलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

सोमबार भएको खेलमा बेंगलोर फराकिलो अन्तरले जित हासिल गर्ने क्रममा कोलकतालाई ८२ रनले पराजित गरेको छ ।

खेलमा बेंगलोरले प्रस्तुत गरेको १ सय ९५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय १२ रनमा सिमित हुन् पुगेपछि खेल बेंगलोरले आफ्नो पक्षमा पार्न सफल भयो ।

ब्याटिङतर्फ कोलकताका लागि ओपनर ब्याट्सम्यान शुभमन गिलले सर्वाधिक ३४ रनको पारी खेलेका थिए । २५ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ३ चौका र १ छ्क्कासमेत प्रहार गरे ।

यस्तै टिमका लागि आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६/१६ रन बनाउँदा अन्य खेलाडीले उल्लेख योगदान गर्न नसक्दा टिम स्तब्ध हुन् पुग्यो ।

बलिङतर्फ बेंगलोरका वाशिंगटन सुन्दर र क्रिस मोरिसले समान २/२ विकेट लिए भने । नभदेव शैनी , मोहम्मद सिराज , युजवेंद्र चहल र ईसुरु उदानाले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै मात्र २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

बेंगलोरले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि ओपनरद्वय आरोन फिन्च र देवदत्तले राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीच ६७ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

७.४ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका देवदत्तले ३२ रनको योगदान गरेका थिए । आन्द्रे रसेलको बलमा आउट हुनुअघि उनले उक्त रन बनाउने क्रममा २३ बलको सामना गर्दै ४ चौका र १ छ्क्का समेत प्रहार गरे ।

देवदत्त आउट भएपछि १२.२ ओभरमा अर्का ओपनर आरोन फिन्च पनि आउट हुन् पुगे । प्रशिद्व कृष्णको बलमा आउट हुनुअघि उनले ३७ बलको सामना गर्दै ४ चौका र १ छ्क्कासहित ४७ रन बनाएका थिए ।

त्यसपछि टिमको इनिङलाई कप्तान विराट कोहली र एबी डि भिलियर्सले अगाडी बढाएका थिए । अविजित रहेका दुबैले सानदार ब्याटिङ समेत गरे । जसमा एबी डि भिलियर्सले ३३ बलको सामना गर्दै ५ चौका र ६ छ्क्कासहित ७३ रन बनाए भने विराटले पनि ३३ रन थपेका थिए ।

यो जितसँगै ७ खेल खेलेको बेंगलोरले अंकतालिकामा १० अंक जोडेको छ । भने समान ७ खेल खेलेको कोलकताको ८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्