onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीमाथि मुम्बईको रोमान्चक जित

एजेन्सी । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दिल्ली क्यापिटल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) मा दोस्रो हार ब्यहोरेको छ ।

प्रतियोगितामा दोस्रो हार ब्यहोर्ने क्रममा दिल्ली आईतबार राति डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनसँग ५ विकेटले पराजित भएको छ । यसअघि दिल्ली हैदराबादसँग १५ रनले पराजित भएको थियो ।

रोमान्चक बनेको खेलमा दिल्लीले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी चुनौतीलाई मुम्बईले २ बल बाँकी रहदै ५ विकेट गुमाएर पूरा गरेको थियो ।

मुम्बईको जितमा ओपनर तथा विकेट किपर ब्याट्सम्यान क्विन्टन डि काक र सुर्यकुमार यादनबले राम्रो ब्याटिङ गरेका थिए ।

जसमा क्विन्टनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छ्क्कासहित ५३ रन बनाए । भने सुर्यकुमारले पनि ३२ बलको सामना गर्दै ६ चौका र १ छ्क्कासहित ५३ रननै बनाए ।

यस्तै टिमका लागि इशान किशनले २८ तथा कृणाल पांड्याले १२ ,किरोन पोलार्डले ११ र कप्तान रोहित शर्माले ५ रन बनाएका थिए ।

बलिङतर्फ दिल्लीका कासिगो रबाडाले २ तथा अक्षर पटेल ,रविचन्द्रन आश्विन र मार्कस स्टोनिसले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि शेख जायद रंगशाला आबुधाबीमा भएको खेलमा टस जितेर दिल्लीले सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो । जसअनुरुप दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

दिल्लीका लागि अनुभवी ओपनर ब्याट्सम्यान शिखर धवनले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ५२ बलको सामना गर्दै ६ चौका र १ छ्क्कासहित ६९ रन बनाए ।

यस्तै कप्तान श्रेयस अय्यरको प्रदर्शन पनि राम्रोनै रह्यो । ३३ बलको सामना गरेका उनले ५ चौकासहित ४२ रन जोडेका थिए ।

यी दुई बाहेक स्टोनिसले १३ रन , अजिंक्य रहाणे १५ रन ,पृथ्वी शाले ४ र एलेक्स क्यारीले अविजित रहदै १४ रन बनाएका थिए ।

बलिङतर्फ मुम्बईका कृणाल पांड्याले २ तथा ट्रेंट बोल्टले १ विकेट लिएका थिए ।

यो जितसँगै ७ खेल खेलेको मुम्बई ५ खेलमा जित र २ मा हारसहित १० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भने समान ७ खेलनै खेलेको दिल्लीको पनि १० अंकनै रहेको छ । यस्तोमा नेट रनरेटमा पछि पार्दै मुम्बई पुन : पहिलो स्थानमा उक्लिएको हो ।

यता प्रतियोगिता अन्तर्गत आज सोमबार रोयल च्यालेन्जर्स बेंगलोरले कोलकता नाइट राईडर्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाह क्रिकेट रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्