दिल्ली लगातार चौथों जितको खोजिमा
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आज आईतबार दिनको दोस्रो खेलमा अंकतालिकाको शीर्ष दुई टोली दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमने सामने हुँदै छन् ।
नेपाली समय अनुसार राति पौने ८ बजेपछि आबुधाबीस्थित शेख जायद रंगशालामा हुने खेलमा उच्च लयमा रहेको दिल्ली आफ्नो लयलाई यथावत राख्ने सोचसहित मैदानमा उत्रिने छ ।
हालसम्म ६ खेल खेलिसकेको दिल्लीले मात्र एक खेल गुमाएको छ । र १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।
दिल्ली आफ्नो तेस्रो खेलमा हैदराबादसँग १५ रनले पराजित भएको थियो ।
त्यसअघि दिल्लीले पहिलो खेलमा पन्जावलाई सुपर ओभरमा पराजित गरेको थियो । दोस्रो खेलमा चेन्नईलाई ४४ रनले पराजित गरेको थियो ।
चौथों खेलमा दिल्लीले कोलकतालाई १८ रनले , पाँचौमा बेंगलोरलाई ५९ रनले र अघिल्लो खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको थियो ।
यता आईपीएलमा हालसम्म ६ खेल खेलेको मुम्बई ४ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै ८ अंकसहित अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा मुम्बई पहिलो खेलमा चेन्नईसँग ५ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा मुम्बईले कोलकतालाई ४९ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने मुम्बई सुपर ओभरमा बेंगलोरसँग पराजित हुन् पुगेको थियो ।
त्यसपछि मुम्बईले क्रमशः पन्जावलाई ४८ रनले , हैदराबादलाई ३४ रनले र राजस्थानलाई ५७ रनले पराजित गरेको थियो ।
यसरी प्रतियोगिताको उपाधि दाबेदारी प्रस्तुत गरिरहेका यी दुईबीचको खेल आफैमा हेर्नलायक हुनेछ । दुबै टिम जित निकाल्दै आफ्नो लयलाई अझ बलियो बनाउने सोचका साथ मैदानमा उत्रिने छन् ।