onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराट चम्कँदा बेंगलोरको ठूलो योगफल

एजेन्सी । कप्तान विराट कोहलीले सानदार ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले आफ्नो छ्ठौं खेलमा चेन्नई सुपर किंग्ससामू ठूलो विजयी चुनौती प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै ब्याटिङ गर्दै मात्र ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ ।

बेंगलोरले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि कप्तान विराट कोहलीले कप्तानी पारी खेले । इनिङकै सर्वाधिक ठूलो स्कोर बनाउने क्रममा उनले अविजित रहदै ५२ बलको सामना गर्दै ४ चौका र ४ छ्क्कासहित ९० रन बनाए ।

त्यसअघि टिमले तेस्रो ओभरको पाँचौ बलमा टिमको स्कोर १३ रन हुँदा भरपर्दा ओपनर ब्याट्सम्यान आरोन फिन्चलाई सस्तैमा गुमाएको थियो ।

दिपक चाहारको बलमा आउट हुनुअघि उनले ९ बलको सामना गर्दै मात्र २ रन बनाए । आरोन आउट भएपछि अर्का ओपनर देवदत्त पडिक्कलले विराट कोहलीलाई साथ दिएका थिए ।

यस बीचमा यी दुईबीच दोस्रो विकेटका लागि ५३ रनको साझेदारी हुन् पुगेको थियो । तर ११ औं ओभरको दोस्रो बलमा देवदत्त आउट हुन् पुगे ।

शार्दुल ठाकुरको बलमा क्याच आउट हुनुअघि उनले ३४ बलको सामना गर्दै २ चौका १ छ्क्कासहित ३३ रन बनाए । देवदत्त आउट भएपछि एबी डि भिलिअर्स शून्य रनमा आउट हुन् पुग्दा वाशिंगटन सुन्दरले १० रन जोडे । अत्यमा अविजित रहेका शिभम दुबेले पनि २२ रन थपेका थिए ।

बलिङतर्फ चेन्नईका शार्दुल ठाकुरले २ तथा दिपक चाहर र साम कुरानले समान १/१ विकेट लिएका थिए ।

अब बेंगलोरले प्रस्तुत गरेको १ सय ७० रनको विजयी चुनौतीलाई पछ्याउँदै चेन्नईले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्