onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लीबाट राजस्थानलाई विशाल लक्ष्य प्राप्त

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो छठौ खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

शारजाह क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ ।

दिल्लीले यो योगफल खडा गर्ने क्रममा सुरुवातबाटै मध्यम सुरुवात गरेको थियो । जस अन्तर्गत १.३ ओभरमा टिमको स्कोर १२ रन हुँदा ओपनर शिखर धवनलाई दिल्लीले व्यक्तिगत ५ रनमा गुमाएको थियो । मात्र ४ बलको मात्र सामना गरेका उनले जोफ्रा आर्चरको बलमा आउट हुनुअघि १ चौका समेत प्रहार गरेका थिए ।

शिखर सस्तैमा आउट भएपछि पृथ्वी शालाई साथ दिन टिमका कप्तान श्रेयस अय्यर मैदानमा आएका थिए । यसबीचमा पृथ्वी दोस्रो विकेटका रुपमा आउट हुन् पुगे । ४.२ ओभरमा टिमको स्कोर ४२ रन हुँदा जोफ्रा आर्चरकै बलमा आउट हुन् पुगेका पृथ्वीले १० बलको सामना गर्दै २ चौका र १ छक्कासहित १९ रन जोडे ।

त्यसपछि कप्तान श्रेयस अय्यरले पनि ठूलो पारी खेल्न सकेनन् । ५.५ ओभरमा टिमको स्कोर ५० रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका उनले १८ बलको सामना गर्दै ४ चौकासहित मात्र २२ रन बनाए ।

कप्तान श्रेयस अय्यर आउट भएपछि टिमका भरपर्दा खेलाडी ऋषभ पन्त पनि ५ रन बनाएर आउट भएपछि दिल्ली केहि दबाबमा आएको थियो । तर यसबीचमा मार्कस स्टोइनिस,र शिमरोन हेटमायरले दिल्लीको पारीलाई उकास्न ठूलो भूमिका निर्वाह गरे ।

जसमा मार्कस स्टोइनिसले ३९ रन बनाए भने शिमरोन हेटमायरले पनि ४५ रन जोडे । इनिङकै सर्वाधिक ठूलो पारी खेल्ने क्रममा शिमरोनले २४ बलको सामना गर्दै १ चौका र ५ छक्कासहित उक्त रन बनाएका थिए ।

यस्तै दिल्लीका लागि अत्यमा ,हर्षल पटेल १६ र अक्षर पटेलले १७ रन जोडेपछि दिल्ली यो विशाल योगफलतर्फ पुग्न सफल भएको थियो ”।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले ३ तथा राहुल तेवतिया , एन्ड्र्यू टाय र कार्तिक त्यागीले समान १/१ विकेट लिएका थिए ।

अब दिल्लीले प्रस्तुत गरेको १ सय ८५ रनको विजयी चुनौतीलाई पछ्याउदै राजस्थानले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्