उच्च लयमा रहेको सन्दीपको टोली दिल्ली लगातार तेस्रो जितको खोजिमा
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आज आफ्नो छ्टौं खेलमा राजस्थान रोयल्सको सामना गर्दैछ ।
नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाह क्रिकेट रंगशालामा सुरु हुने खेलमा दिल्ली लगातार तेस्रो जितको खोजिमा रहने छ ।
जारी प्रतियोगितामा अहिलेसम्म ५ खेल खेलिसकेको दिल्ली ४ खेलमा जित र १ मा हार ब्यहोर्दै ८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा किंग्स इलाभेन पन्जावलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।
तेस्रो खेलमा भने दिल्ली हैदराबादसँग १५ रनले पराजित हुन् पुगेको थियो । त्यसपछि भने दिल्लीले क्रमशः कोलकतालाई १८ रनले र बेंगलोरलाई ५९ रनले पराजित गरेको छ ।
यता आज दिल्लीको सामना गर्न लागेको राजस्थान तेस्रो जितको खोजीमा रहने छ । प्रतियोगितामा हालसम्म ५ खेल खेलेको राजस्थान २ खेलमा जित र ३ मा हार ब्यहोर्दै ४ अंकसहित अंकतालिकाको सातौं स्थानमा रहेको छ ।
प्रतियोगितामा सुरुवाती दुई खेल जित्दै हौसिएको राजस्थान त्यसपछि भने लगातार तीन खेलमा पराजित हुन् पुगेको छ ।राजस्थानले पहिलो खेलमा चेन्नईलाई १६ रन र दोस्रो खेलमा पन्जावलाई ४ विकेटले पराजित गरेको थियो ।
त्यसपछि भने राजस्थानले जित निकाल्न सकिरहेको छैन । यसबीचमा राजस्थान तेस्रो खेलमा कोलकतासँग ३७ रनले , चौथोंमा बेंगलोरसँग ८ विकेटले र मुम्बईसँग ५७ रनले पराजित हुन् पुगेको थियो ।
यसरी प्रतियोगितामा रहिरहन पनि आजको खेल राजस्थानलाई निकै महत्वपूर्ण रहेको छ । ब्याटिङ राम्रो मानिने राजस्थानको पछिल्ला केहि खेलमा त्यो देख्न पाईएको छैन । फिनिसिङ कमजोर बनेको छ ।
यस्तोमा विश्व चर्चित अलराउन्डर बेन स्टोक्सले सिजनको सुरुवात आजबाट गर्ने उच्च सम्भावना रहेको छ । राजस्थानका केन्द्र समेत रहेका स्टोक्सको आगमनले टिमलाई अझ ससक्त बनाएको छ । यसअघि उनि पारीवारिक कारण खेलबाट टाढा रहेका थिए ।
केही दिनअघि मात्र युएई आईपुगेका उनले कोरोना भाइरसको सुरक्षात्मक मापदण्ड अनुरुप क्वारेन्टाइन बसेका थिए र अहिले उनी खेल्नका लागि तयार छन् ।
जुन राजस्थानका लागि शुखद खबर समेत हो । उनको आगमनले टिमका लागि ठूलो राहत पक्कै दिनेछ ।
तर राम्रो लयमा देखिएको दिल्लीसँग खेल्न राजस्थानका लागि भने आफैमा चुनौतीपूर्ण रहेको छ ।
यता सन्दीपले यस खेलमा पनि अन्तिम -११ मा स्थान पक्का गर्न निकै गार्हो देखिन्छ । यसअघिका सबै खेलमा बेन्चमै रहेका सन्दीपले अन्तिम ११ मा स्थान बनाउन अझै कुर्नु पर्ने पनि देखिन्छ ।