onlinekhelkhabar.com

Complete website for Nepali Sports News

कमजोर पन्जावमाथि हैदराबादको सानदार जित

एजेन्सी । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा तेस्रो जित हासिल गरेको छ ।

प्रतियोगितामा तेस्रो जित हासिल गर्ने क्रममा हैदाराबादले बिहीबार राति किंग्स इलाभेन पन्जावलाई ६९ रनले पराजित गरेको छ ।

यो जितसँगै ६ खेल खेलेको हैदराबादले ३ मा जित र ३ मै जित हासिल गर्दै ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता हैदराबादसँग पराजित हुन् पुगेको पन्जाव ६ खेलबाट ५ मा हार र १ मा जितसहित २ अंकका साथ अंकतालिकाको पुछारमा रहेको छ ।

यता खेलमा हैदराबादले दिएको २ सय २ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको पन्जाव १६.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ३२ रनमा सिमित हुन् पुगेपछी खेल हैदराबादले फराकिलो अन्तरले आफ्नो पक्षमा पार्न सफल भयो ।

पन्जावका लागि निकोलस पूरानले सर्वाधिक ठूलो पारी खेले । ३७ बलको सामना गरेका उनले ५ चौका र ७ छ्क्कासहित ७७ रनको योगदान गरे ।
यी बाहेक कप्तान लोकेश राहुल र सिमरन सिँहले समान ११/११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् र पन्जावले प्रतियोगितामा फेरी अर्को लज्जास्पद हार ब्यहोरेको छ ।

बलिङतर्फ हैदराबादका राशिद खानले ३ तथा नटराजन र खलील अहमदले समान २/२ विकेट लिएका थिए । भने अभिषेक शर्माले पनि १ विकेट हात पारे ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि ओपनरद्वय डेविट वार्नर र जोनी बेयरस्टोले सानदार ब्याटिङ गरेका थिए ।

यी दुईबीच १ सय ६० रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । १५.१ ओभरमा बल्ल हैदराबादले पहिलो विकेटका रुपमा टिमका कप्तान समेत रहेका वार्नरलाई गुमाएको थियो ।

रवि बिश्नोई बलमा ग्लेन म्याक्सवेलको हातबाट क्याच आउट हुनुअधि उनले ४० बलको सामना गर्दै ५ चौका र १ छ्क्कामार्फत ५२ रनको योगदान गरे ।
यस्तै अर्का ओपनर भने अभागी सावित हुन् पुगे। आईपीएल करियरमै दोस्रो शतक नजिक पुगे पनि उनि मात्र ३ रन टाढा रहे । ब्यक्तिगत रुपमा शतक पूरा गर्न असमर्थ रहेपनि उनले टिमका लागि भने सानदार योगदान गरे ।

१५.४ ओभरमा टिमको स्कोर १ सय ६० रननै हुँदा रवि बिश्नोईको बलमा एलबिडब्लुको सिकार हुन् पुगेका उनले ५५ बलको सामना गर्दै ७ चौका र ६ छ्क्कासहित ९७ रन बनाए ।

त्यसपछि हैदराबादका लागि केन विलियमसनले २० तथा अभिषेक शर्माले अविजित रहदै १२ रन थपेका थिए । बलिङतर्फ पन्जावका लागि रवि बिश्नोईले ३ तथा अर्शदीप सिंहले २ मोहम्मद शामीले १ विकेट लिएका थिए ।

अब प्रतियोगिता अन्तर्गत शुक्रबार दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि शारजाह क्रिकेट रंगशालामा हुनेछ ।