मुम्बईको अर्को सानदार जित
एजेन्सी । साविकको विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा चौथों जित हासिल गरेको छ । प्रतियोगितामा चौथों जित हासिल गर्ने क्रममा मुम्बईले मंगलबार राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ ।
एकतर्फी बनेको खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ९४ रनको विजयी चुनौतीलाई पछ्याएको राजस्थान १८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनमा सिमित हुन् पुगेको थियो ।
विशाल योगफललाई पछ्याएको भएपनि राजस्थानका जोस बटलर र जोफ्रा आर्चरले बाहेक अन्यले न्याय गर्न नसक्दा टिमले ठूलो हार ब्यहोर्नु पर्यो ।
जसमा जोस बटलरले ४४ बलको सामना गर्दै ४ चौका र ५ छ्क्कासहित सर्वाधिक ठूलो पारी खेले ।
ओपनर तथा विकेटकिपर समेत रहेका उनि पाँचौ विकेटका रुपमा आउट हुन पुगेका थिए ।बटलर आउट हुनुअघि अर्का युवा ओपनर यशस्वी जैसवाल शून्य रनमा , कप्तान स्टीवन स्मिथ ६ रनमा , सन्जु सामसन शून्यमा र महिपाल लोमर ११ रन बनाएर आउट हुन् पुगेका थिए ।
बलिङतर्फ मुम्बईका जसप्रीत बुमराहले ४ विकेट हात पार्दा ट्रेंट बोल्ट र जेम्स प्याटिनसनले समान २/२ विकेट लिएका थिए ।भने राहुल चाहर र किरोन पोलार्डले पनि १/१ विकेट लिए ।
त्यसपछी राम्रो ब्याटिङ गरिरहेका बटलर आउट हुन् पुगेपछी राजस्थान थप दबाबमा आएको थियो । त्यसबीचमा जोफ्रा आर्चरले २४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक समेत छोड्न सकेनन् र टिम पराजित हुन् पुग्यो ।
त्यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा टस जितेर मुम्बईले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।जसअन्तर्गत मुम्बईले निर्धारित २० ओभर पूरै ब्याटिङ गर्दै मात्र ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
मुम्बईले उक्त विशाल योगफल तयार गर्ने क्रममा उसका लागि सुर्यकुमार यादवले सर्वाधिक ठूलो योगदान गरे ।
अविजित रहेका उनले ४७ बलको सामना गर्दै ११ चौका र २ छ्क्कासहित ७९ रन बनाए । यस्तै टिमका लागि ओपनरद्वय क्विन्टन डि कोक र रोहित शर्माले क्रमशः २३ र ३५ रन बनाएका थिए । यस्तै क्रुणाल पांड्याले १२ रन थप्दा हार्दिक पांड्या ३० रनमा अविजित रहेका थिए ।
बलिङतर्फ राजस्थानका श्रेयस गोपालले २ तथा जोफ्रा आर्चर र कार्तिक त्यागीले १/१ विकेट लिएका थिए ।
यो जितसँगै प्रतियोगितामा ६ खेल खेलेको मुम्बई ४ खेलमा जित र २ मा हारसहित ८ अंकका साथ फेरी शीर्ष स्थानमा उक्लिएको छ ।
यता मुम्बईसँग पराजित हुन् पुगेको राजस्थान ५ खेलबाट मात्र २ खेलमा जित निकाल्दै ४ अंकसहित अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
अब प्रतियोगितामा आज बुधबार कोलकता नाइट राइडर्स र चेन्नई सुपर किंग्स आमने सामने हुनेछन् । आबुधाबीस्थित शेख जायद रंगशालामा हुने यस खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।