दिल्लीले दियो बेंगलोरलाई विशाल चुनौती
एजेन्सी । इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो पाँचौ खेलमा अहिले दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरको सामना गरिरहेको छ ।
दुबई अन्तराष्ट्रीय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको छ ।
दिल्लीले यो योफगल खडा गर्ने क्रममा सुरुवातबाटै राम्रो गरेको थियो । उसका लागि ओपनरद्वय पृथ्वी शा र शिखर धवनले ६८ रनको ओपनिङ साझेदारी गरेका थिए ।
सातौँ ओभरको चौथो बलमा पृथ्वी ४२ रन बनाएको अवस्थामा आउट हुन् पुगेका थिए । टिमलाई ठोस सुरुवात दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले मोहम्मद सिराजको बलमा एबी डि भिलियर्सको हातबाट क्याच आउट हुनुअघि २३ बलको सामना गर्दै ५ चौका र २ छक्कासहित उक्त रन बनाएका थिए ।
पृथ्वी आउट भएपछि शिखरलाई साथ दिन कप्तान श्रेयस अय्यर मैदानमा आएका थिए । तर यिनै शिखर ९.४ ओभरमा टिमको स्कोर ८२ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका थिए । ईसुरु उदानाको बलमा मोईन अलिको हातबाट क्याच आउट हुनुअघि शिखरले २८ बलको सामना गर्दै ३ चौकासहित ३२ रनको योगदान गरे ‘।
शिखर आउट भएपछि दिल्लीले श्रेयस अय्यरलाई सस्तैमा गुमायो । यसअघि राम्रो प्रदर्शन गरिरहेका श्रेयस यस खेलमा भने चल्न् सकेनन् । ११.३ ओभरमा टिमको स्कोर ९० रन हुँदा तेस्रो विकेटका रुपमा मैदान छोडेका उनले त्यसक्रममा ११ रन जोडे ।
त्यसपछि भने दिल्लीले फेरी अर्को राम्रो साझेदारी पायो । रिषभ पन्त र अष्ट्रेलियन अलराउण्डर मार्कस स्टोनिसले टिमको इनिङलाई अगाडी बढाउने क्रममा ६९ रनको साझेदारी समेत गरे । जून साझेदारीले दिल्लीलाई पुन राहत दिएको थियो ।
राम्रो ब्याटिङ गरिरहेका पन्त यसैबीचमा १८.२ ओभरमा टिमको स्कोर १ सय ७९ रन हुँदा आउट हुन् पुगे । २५ बलको सामना गरेका उनले ३ चौका र २ छक्कासहित ३७ रन बनाए उनि सिराजको बलमा आउट हुन् पुगेका थिए ।
यस्तै मार्कस स्टोनिसले भने इनिङकै सर्वाधिक ठूलो पारी खेल्ने क्रममा अर्ध शतक पूरा गरेका थिए । अविजित रहेका उनले २६ बलको सामना गर्दै ६ चौका र २ छक्कासहित ५३ रन बनाए भने शिमरोन हेटमाइर पनि ११ रनमा अविजित रहे ।
अब दिल्लीले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी चुनौतीलाई पछ्याउदै बेंगलोरले अबको केहि समयपछि जवाफी ब्याटिङ गर्नेछ ।