न्युजिल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी । अष्ट्रेलिया र न्युजिल्यान्डबीचको तीन खेलको एकदिवसीय महिला सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली अष्ट्रेलिया विजयी भएको छ ।

शनिबार भएको खेलमा अष्ट्रेलियाले जित हासिल गर्ने क्रममा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ ।

खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको विजयी चुनौतीलाई अष्ट्रेलियाले ३३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई सानदार जित दिलाउने क्रममा अष्ट्रेलियाकी कप्तान मेग लानिङले ठूलो पारी खेलिन् ।अविजित रहेकी उनले ७० बलको सामना गर्दै ५ चौका र २ छक्कासहित ६२ रनको योगदान गरिन् ।

त्यसअघि टिमलाई ओपनर ब्याटरद्वय राचेल हेन्स र एलिसा हीलीले ठोस सुरुवात दिलाउने क्रममा ४१ रनको ओपनिङ साझेदारी गरेका थिए। ८.३ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी एलिसाले २७ बलको सामना गर्दै ५ चौकासहित २६ रन जोडिन् ।

त्यसपछि राचेललाई साथ दिन मैदानमा कप्तान मेग आएकी थिइन् । यसबीचमा यी दुईबीच दोस्रो विकेटका लागि ६५ रनको साझेदारी हुन् पुगेको थियो। जून अष्ट्रेलियाको सानदार जितको आधार समेत बन्यो । २०.२ ओभरमा टिमको स्कोर १ सय ६ रन हुँदा राचेल व्यक्तिगत ४४ रन बनाएर आउट हुन् पुगेकी थिइन् ।

हेले जेनसनको बलमा क्याच आउट हुँदै पभेलियन फर्किनु अघि उनले उक्त रन बनाउने क्रममा ६२ बलको सामना गर्दै ५ चौका र १ छक्का समेत प्रहार गरिन् ।

त्यसपछि मेगले एकतर्फबाट इनिङलाई अगाडी बढाईन भने अर्कोतर्फबाट बेथ मूनीले साथ दिइन् । त्यस क्रममा उनले १६ रन बनाईन् र अत्यमा मेगसँगै रहेकी सोफी मोलिनेक्सले १८ रन जोडिन् ।

बलिङतर्फ न्युजिल्यान्डकी रोजमैरी मेयरले २ तथा हेले जेनसनले १ विकेट लिएकी थिइन् ।

त्यसअघि अष्ट्रेलिया ब्रिसबेनस्थित ॲलन बॉर्डर फिल्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४९.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

न्युजिल्यान्डले उक्त रन बनाउने क्रममा उसका लागि मैडी ग्रीनले सर्वाधिक ठूलो पारी खेलेकी थिइन् । ४९ बलको सामना गरेकी उनले ३ छक्कासहित ३५ रनको योगदान गरेकी थिइन् ।

मैडी ग्रीन बाहेक टिमका लागि केटी पर्किन्सले ३२ तथा केटी मार्टिन र हेले जेनसनले समान २१/२१ रन बनाएका थिए । यी बाहेक अन्य खेलाडीले भने टिमका लागि सन्तोषजनक प्रदर्शन गर्न सकेनन् र टिम कम स्कोरमा रोकिन्न बाध्य भएको थियो।

बलिङतर्फ अष्ट्रेलियाकी जर्जिया वेयरहैम, जेस जोनासेन र सोफी मोलिनेक्सले समान २/२ विकेट हात पारेका थिए । भने मेगन , अन्नाबेल र निकोलाले पनि १/१ विकेट लिन सफल भएका थिए ।

अब सिरिज अन्तर्गत दोस्रो खेल ,सोमबार हुनेछ । एकदिवसीय अघि यी दुईबीच टि-ट्वान्टी सिरिज भएको थियो ।जसमा घरेलु टोली अष्ट्रेलिया २-१ ले विजयी भएको थियो ।