राजस्थानमाथि जित निकाल्दै बेंगलोर अंकतालिकाको शीर्ष स्थानमा

राजस्थानमाथि जित निकाल्दै बेंगलोर अंकतालिकाको शीर्ष स्थानमा

एजेन्सी । कप्तान विराट कोहलीले सानदार ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) मा तेस्रो जित हासिल गरेको छ ।

बेंगलोरले प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा शनिबार भएको दिनको पहिलो खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।
यो जितसँगै ४ खेल खेलेको बेंगलोरले अंकतालिकामा ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यता बेंगलोरसँग पराजित हुन् पुगेको राजस्थानको यो जारी प्रतियोगितामा दोस्रो हार हो । हालसम्म ४ खेल खेलेको राजस्थानले २ खेलमा जित र २ खेलमा हार व्यहोर्दै ४ अंक जोडेको छ र अंकतालिकामा छठौ स्थानमा रहेको छ ।

खेलमा राजस्थानले प्रस्तुत गरेको १ सय ५५ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको बेंगलोरले उक्त चुनौतीलाई १९.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई महत्वपूर्ण खेलमा जित दिलाउने क्रममा कप्तान विराटले कप्तानी पारी खेले । यसअघिका तीन खेलमा सस्तैमा आउट हुन् पुगेका विराटले यो खेलमा भने सर्वाधिक ठूलो पारी खेले । ५३ बलको सामना गरेका उनले ७ चौका र २ छक्कासहित अविजित रहदै ७२ रनको योगदान गरे ।

यस्तै टिमका लागि ओपनर देवदत्त पडिक्कलले ६३ तथा आरोन फिन्चले ८ रनको योगदान पुर्याउदा एबी डीविलियर्स १२ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ जोफ्रा आर्चर र श्रेयस गोपालले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानले उक्त योगफल बनाउने क्रममा उसका लागि २० वर्षिय युवा खेलाडी महिपाल लोमरोरले सर्वाधिक ४७ रनको योगदान गरे । ३९ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा १ चौका र ३ छक्का समेत प्रहार गरे ।

त्यसअघि टिमले तेस्रो ओभरको चौथो बलमा टिमको स्कोर २७ रन हुँदा टिमका भरपर्दा ओपनर तथा टिम कप्तान स्टीवन स्मिथलाई गुमाएको थियो । सस्तैमा आउट हुन् पुगेका उनि इसुरु उदानाको बलमा आउट हुँदै पभेलियन फर्किएका थिए । जसमा उनले ५ बलमा १ चौका सहित मात्र ५ रन बनाए ।

स्मिथ आउट भएपछि राजस्थानले अर्का ओपनर ब्याट्सम्यान जोस बटलरलाई पनि गुमायो । उनि ३.१ ओभरमा टिमको स्कोर ३१ रन हुँदा २२ रन बनाएर आउट हुन् पुगेका थिए ।

त्यसपछि टिमका लागि रॉबिन उथप्पाले १७ तथा रियान परागले १६ रन थप्दा राहुल तेवतिया र जोफ्रा आर्चरले पनि अविजित रहदै क्रमश : २४ र १६ रन जोडेपछि टिमले यो योगफलसम्म पुग्न सफल भयो ।

बलिङतर्फ बेंगलोरका युजवेंद्र चहलले सर्वाधिक ३ तथा उदानाले २ र नवदीप सैनीले १ विकेट लिएका थिए ।