हैदराबादबाट चेन्नईलाई ठूलो लक्ष्य प्राप्त : १९ वर्षिय प्रियमको आईपीएलमा पहिलो अर्धशतक
एजेन्सी। मध्य क्रममा युवा ब्याट्सम्यान प्रियम गर्गले अर्धशतकीय पारी खेलेपछि अहिले जारी इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सको सामू ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको छ ।
हैदराबादले यो योगफल बनाउने क्रममा उसका लागि १९ वर्षिय युवा खेलाडी प्रियम गर्गले सानदार ब्याटिङ गरे । अविजित रहेका उनले इनिङकै सर्वाधिक ठूलो पारी खेल्ने क्रममा उनले २६ बलको सामना गर्दै ६ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए । यो सँगै मात्र ४ खेल खेलेका उनको यो पहिलो अर्ध शतक समेत हो।
त्यसअघि हैदराबादका विकेट किपर तथा ओपनर ब्याट्सम्यान जोनी बेयरस्टो शुन्य रनमा आउट हुन् पुगेका थिए । पहिलो ओभरको चौथो बलमै उनि दिपक चाहरको बलमा आउट हुन् पुगेका थिए । त्यसपछि हैदराबादको पारीलाई टिमका कप्तान डेविट वार्नर र मनिष पाण्डेले अगाडी बढाएका थिए ।
यी दुईबीच लामो साझेदारी हुन् नसकेपनि टिमलाई ठोस सुरुवात दिलाउन भने प्रयाप्त बन्यो । यी दुईबीच ४६ रनको साझेदारी हुन् पुगेको थियो । ७.१ ओभरमा टिमको स्कोर ४७ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका मनिषले २९ रन जोडे ।
शार्दुल ठाकुरको बलमा आउट हुनुअघि उनले २१ बलको सामना गर्दै ५ चौकासहित उक्त रन बनाएका थिए । मनिष आउट भएपछि १०.५ ओभरमा टिमको स्कोर ७९ रन हुँदा टिमले कप्तान वार्नरलाई गुमाएको थियो । २९ बलको सामना गरेका उनले ३ चौका सहित २८ रन जोडे ।
यी बाहेक हैदराबादका लागि अभिषेक शर्माले ३१ रन तथा केन विलियमसनले ९ रनको योगदान गरेका थिए ।
बलिङतर्फ चेन्नईका दिपक चाहरले २ तथा शार्दुल ठाकुर र पीयूष चावलाले समान एक -एक विकेट लिएका थिए ।
अब हैदराबादले प्रस्तुत गरेको १ सय ६५ रनको विजयी चुनौतीलाई पछ्याउदै चेन्नईले अबको केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।