पञ्जाबलाई हराउँदै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लियो
एजेन्सी । किंग्स इलाभेन पञ्जाबलाई पराजित गर्दै साविकको विजेता समेत रहेको मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल )को शीर्ष स्थानमा उक्लिएको छ ।
अंकतालिकको शीर्ष स्थानमा उक्लिने क्रममा मुम्बईले बिहिबार राति भएको खेलमा पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो मुम्बईको दोस्रो जित समेत हो ।यसअघि मुम्बईले कोलकतालाई ४९ रनले पराजित गरेको थियो । भने बेंगलोरसँग सुपर ओभरमा र चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो ।
यता पञ्जाबको यो तेस्रो हार हो । यसअघि पञ्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित हुन् पुगेको थियो । भने दोस्रो खेलमा पञ्जाबले बेंगलोरमाथि ९७ रनले जित आत्मसाथ गर्दा तेस्रो खेलमा भने पञ्जाब राजस्थान रोयल्ससँग निराश हुने क्रममा ४ विकेट पराजित हुन् पुगेको थियो ।
यो खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ९२ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको पञ्जाब निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय ४३ रनमा सिमित हुन् पुगेपछि खेल मुम्बईले आफ्नो पक्षमा पार्न सफल भयो ।
ठूलो लक्ष्यलाई पछ्याएको खेलमा पञ्जाबका लागि निकोलस पूरनले सर्वाधिक ठूलो पारी खेले । २७ बलको सामना गरेका उनले ३ चौका र २ छक्कासहित ४४ रनको योगदान गरे ।
यस्तै टिमका लागि मंयाक अग्रवालले २५ तथा कप्तान लोकेश राहुलले १७ रन र ग्लेन म्याक्सवेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन् पुग्यो ।
बलिङतर्फ मुम्बईका जेम्स प्याटिनसन,जसप्रीत बुमराह र राहुल चाहरले समान २/२ विकेट हात पारेका थिए । भने ट्रेंट बोल्ट र क्रुणाल पांड्याले पनि १/१ विकेट लिन सफल भए ।
त्यसअघि आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
मुम्बईले यो स्कोर खडा गर्ने क्रममा उसका लागि कप्तान रोहित शर्माले कप्तानी पारी खेले । इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्कासहित ७० बनाए । चौथों विकेटका रुपमा पभेलियन फर्किएका उनि मोहम्मद शामीको बलमा क्याच आउट हुन् पुगेका थिए ।
यो सँगै उनि आईपीएल इतिहासमा ५ हजार रन बनाउँने तेस्रो खेलाडी बनेका छन् । पहिलो संस्करणबाटै खेल्दै आएका उनले यसबीचमा १ सय ९२ खेलबाट ५ हजार ७८ रन बनाईसकेका छन् ।
आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भने बेंगलोरका कप्तान विराट कोहली अग्रपंक्तिमा रहेका छन् । उनले हालसम्म ५ हजार ४ सय ३० रन बनाएका छन् । यस्तै रोहित भन्दा माथि रहेका सुरेश रैनाले ५ हजार ३ सय ६८ रन बनाएका छन् ।
यस्तै टिमका लागि इशान किशनले २८ बनाए तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका उनले उक्त रन बनाउने क्रममा ३२ बलको सामना गर्दै १ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसअघि टिमले पहिलो ओभरको पाँचौ बलमा विकेटकिपर ब्याट्सम्यान तथा ओपनर क्विन्टन डि कोक लाई गुमायो । शेल्डन कोटरलको बलमा आउट हुन् पुगेका उनले खाता खोल्न समेत सकेनन् ।
त्यसपछि मुम्बईले सूर्यकुमार यादबलाई पनि १० रनमा गुमायो । यस्तै टिमका लागि अत्यतिर किरोन पोलार्ड र हार्दिक पांड्याले अविजित रहदै क्रमशः ४७ र ३० रन बनाए । आक्रामक शैलीमा प्रस्तुत भएका पोलार्डले उक्त रन बनाउने क्रममा मात्र २० बलको सामना गर्दा हार्दिकले ११ बलको सामना गरेका थिए ।
बलिङतर्फ पञ्जाबका कृष्णप्पा गौतम, मोहम्मद शामी र शेल्डन कोटरल,ले समान १/१ विकेट लिएका थिए । अब प्रतियोगिता अन्तर्गत शुक्रबार चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबईमा हुनेछ ।