सानदार रोहित : पूरा गरे आईपीएलमा पाँच हजार रन
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) को सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान तथा कप्तान रोहित शर्माले आईपीएलमा पाँच हजार रन पूरा गरेका छन् ।
उनलाई आईपीएलमा पाँच हजार रन पूरा गर्न केवल २ रन मात्र आवस्यक थियो ।यस्तोमा अहिले जारी किंग्स इलाभेन पञ्जाब विरुद्वको खेलमा आवस्यक रन जोडेपछि उनले आईपीएलमा पाँच हजार रन पूरा गरेका हुन् । यो सँगै आईपीएलमा पाँच हजार रन पूरा गर्ने उनि तेस्रो खेलाडी समेत बनेका छन् ।
अहिले सम्म आईपीएलमा १ सय ९२ खेल खेलेका रोहितले उक्त रन बनाउने क्रममा १ शतक र ३७ अर्धशतक समेत प्रहार गरेका छन् ।
सन् २००८ देखि सुरु भएको आईपीएलमा उनि पहिलो संस्करणबाट डेक्कन चार्जर्सबाट खेलेका थिए । त्यसपछि उनि सन् २०११ मा मुम्बईमा अनुबन्धित भएका थिए। त्यसको २ वर्षपछि उनको कप्तानीमानै मुम्बईले पहिलो पटक आईपीएलको उपाधि उचालेको थियो ।
आईपीएलकै सर्वाधिक सफल कप्तानका रुपमा रहेका रोहितको कप्तानीमा मुम्बईले सन् २०१५ , २०१७ र २०१९ मा पनि उपाधि आफ्नो नाममा लेखाउन सफल भएको थियो ।
आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा भने बेंगलोरका कप्तान विराट कोहली अग्रपंक्तिमा रहेका छन् । उनले हालसम्म ५ हजार ४ सय ३० रन बनाएका छन् । यस्तै रोहित भन्दा माथि रहेका सुरेश रैनाले ५ हजार ३ सय ६८ रन बनाएका छन् ।
चेन्नई सुपर किंग्सबाट खेल्ने रैना पारिवारिक कारण यसपटक भने खेलेका छैनन् ।