अन्तिम खेलमा न्युजिल्यान्ड विजयी : सिरिज भने अष्ट्रेलियालाई
एजेन्सी । अष्ट्रेलिया र न्युजिल्यान्ड बीचको तीन खेलको टि-ट्वान्टी महिला सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा पाहुना टोली न्युजिल्यान्ड विजयी भएको छ ।
बुधबार भएको खेलमा न्युजिल्यान्डले जित हासिल गर्ने क्रममा घरेलु टोली अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ ।योसँगै न्युजिल्यान्ड सिरिजमा क्लिन स्विप हुनबाट जोगिएको छ । सिरिज अन्तर्गत यसअघिका दुई खेल अष्ट्रेलियाले जित्दै सिरिजलाई आफ्नो नाममा लेखाउन सफल भईसकेको थियो । जसमा अष्ट्रेलियाले पहिलो खेलमा न्युजिल्यान्डलाई १७ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित गरेको थियो ।
यता खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय २४ रनको विजयी लक्ष्यलाई न्युजिल्यान्डले ३ बल बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्यो । टिमलाई सान्त्वना जित दिलाउने क्रममा न्युजिल्यान्डकी एमी सैटरथवेटले सर्वाधिक ठूलो पारी खेलेकी थिइन् । २५ बलको सामना गरेकी उनले ३ चौकासहित ३० रन बनाइन् ।
यस्तै टिमलाई जिताउन कप्तान सोफी डिवाइनले २५ तथा विकेट किपर ब्याटर केटी मार्टिनले २३ रन र अमेलिया केरले अविजित रहदै १८ रन बनाएकी थिइन् ।
बलिङतर्फ अष्ट्रेलियाकी जॉर्जिआ वेयरहैमले २ तथा जेस जोनासन र डेलिसा किमिन्सले समान १/१ विकेट लिएका थिए
त्यसअघि अष्ट्रेलिया ब्रिसबेनस्थित ॲलन बॉर्डर फिल्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।
अष्ट्रेलियाले यो स्कोर खडा गर्ने क्रममा सुरुवात देखिनै मध्यम सुरुवात गरेको थियो । टिमले ३.१ ओभरमा टिमको स्कोर २० रन हुँदा अष्ट्रेलियाले ओपनर ब्याटर बेथ मुनीलाई ११ रनमा गुमाएको थियो । उनले उक्त रन बनाउने क्रममा ९ बलको सामना गर्दै २ चौका समेत प्रहार गरिन् ।
उनि आउट भएपछि अर्को ओपनर ब्याटर एलिसा हेली पनि सस्तैमा आउट हुन् पुगिन् । विकेट किपर समेत रहेकी उनले १४ बलको सामना गर्दै १ छक्कासहित ८ रन बनाइन् ।
यसपछि भने कप्तान मेग लेनिंगले २१ रनको योगदान गरिन् । २३ बलको सामना गरेकी उनले उक्त रन बनाउने क्रममा २३ बलको सामना गर्दै ४ चौका समेत प्रहार गर्न सफल भएकी थिइन् । यस्तै टिमका लागि एशलेघ गार्डनरले २९ रनको पारी खेलिन् जून अन्तत: इनिङकै सर्वाधिक ठूलो पारी हुन् पुग्यो ।
यसका साथै अष्ट्रेलियाका लागि सोफी मोलिनेक्सले १८ रन र निकोला क्यारीले १० रन बनाएकी थिईन् ।
बलिङतर्फ न्युजिल्यान्डकी अमेलिया केर र कप्तान सोफी डिवाइनले समान २/२ विकेट हात पार्दा लिआ तहुहु, ह्याली हडलस्टन र म्याडी ग्रीनले पनि १./१ विकेट लिएका थिए ।
टि -ट्वान्टी सिरिजपछि यी दुईबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ । जसको पहिलो खेल शनिबार हुनेछ ।