राशिद चम्किँदा  दिल्लीको अपराजित यात्रामा लाग्यो ब्रेक !

राशिद चम्किँदा दिल्लीको अपराजित यात्रामा लाग्यो ब्रेक !

एजेन्सी । अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खान चम्किँदा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

मंगलबार राति भएको प्रतियोगिताको ११ औं खेलमा हैदराबादले जित निकाल्ने क्रममा दिल्लीलाई १५ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा हैदराबादको पहिलो जित हो भने दिल्लीको यो पहिलो हार हो । यसअघि हैदराबाद पहिलो खेलमा बेंगलोरसँग १० रनले र दोस्रो खेलमा कोलकतासँग ७ विकेटले पराजित भएको थियो । भने दिल्लीले पहिलो खेलमा पन्जावलाई सुपर ओभरमा पराजित गरेको थियो भने दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो ।

यता खेलमा हैदराबादले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी चुनौतीलाई पछ्याउदै जावाफी ब्याटिङ थालेको दिल्ली निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ४७ रनमा सिमित हुन् पुगेपछि हैदराबादलाई प्रतियोगितामा पहिलो जित हासिल गर्न प्रयाप्त बनेको थियो ।

प्रतिष्पर्दात्मक लक्ष्यलाई पछ्याएको भएपनि दिल्ली सुरुवातबाटै मध्यम सुरुवात गरेको थियो । टिमले पहिलो विकेट पहिलो ओभरको पाँचौ बलमा गुमाएको थियो । जसमा पृथ्वी शा २ रन बनाएर आउट हुन् पुगेका थिए । त्यसपछि कप्तान श्रेयस अय्यर पनि १७ रनमा आउट हुन् पुगेका थिए ।

त्यसपछि दिल्लीका लागि अर्का ओपनर ब्याट्सम्यान शिखर धवनले ३४ रन तथा विकेट किपर ब्याट्सम्यान रिशभ पन्तले २८ रन र शिमरोन हेटमेयरले २१ रनको योगदान गरेका थिए ।
बलिङतर्फ हैदराबादका राशिद खानले राम्रो बलिङ प्रस्तुत गर्ने क्रममा आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै मात्र १४ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिएका थिए । उनले उक्त विकेट लिने क्रममा दिल्लीका सिखर धवन, श्रेयस अय्यर र पन्तको विकेट लिएका थिए । यस्तै भुवनेश्वर कुमारले पनि २ तथा खलिल अहमद र नटराजन पनि १/१ विकेट लिन सफल भएका थिए ।

त्यसअघि आबुधावीस्थित शेख जायद क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

हैदराबादले प्रतिष्पर्दात्मक योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यानद्वय डेविट वार्नर र जोनी बेयरस्टोले सानदार सुरुवात दिलाएका थिए । टिमलाई सानदार सुरुवात दिलाउने क्रममा यी दुईबीच ७७ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

दशौं ओभरको तेस्रो बलमा टिमले पहिलो विकेटका रुपमा वार्नरलाई गुमाएको थियो । स्पिनर अमित मिश्राको बलमा विकेटकिपर ऋषभ पन्तको हातबाट क्याच आउट हुनुअघि उनले ३३ बलको सामना गर्दै ३ चौका र २ छक्कासहित ४५ रन बनाएका थिए ।

वार्नर आउट भएपछि बेयरस्टोलाई साथ दिन मनिष पाण्डे मैदानमा आएका थिए । तर उनि भने धेरै बेरसम्म टिक्न सकेनन् । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका मनिषले मात्र ३ रन बनाए । उनलाई पनि अमित मिश्राले पभेलियनको बाटो देखाईदिएका थिए ।

त्यसपछि टिमको इनिङलाई बेयरस्टो र केन विलियमसनले अगाडी बढाए । यी दुईबीच तेस्रो विकेटका लागि ५२ रनको साझेदारी हुन् पुगेको थियो । १७ .५ ओभरमा टिमको स्कोर १ सय ४४ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका बेयरस्टोले अर्धशतकीय पारी खेले । रबाडाको बलमा आउट हुन् पुगेका उनले ४८ बलको सामना गर्दै २ चौका र १ छक्कासहित ५३ रन बनाए ।

यस्तै अन्त्यतिर केन विलियमसनले ४१ तथा अब्दुल समादले १२ रन जोडेका थिए । बलिङतर्फ दिल्लीका लागि अमित मिश्रा र कगिसो रबाडाले समान २/२ विकेट हात पारेका थिए ।