हैदराबादबाट दिल्लीलाई प्रतिष्पर्दात्मक लक्ष्य प्राप्त
एजेन्सी ।युएईमा जारी इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत आफ्नो तेस्रो खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्ससामू प्रतिष्पर्दात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको छ ।
हैदराबादले यो योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यानद्वय डेविट वार्नर र जोनी बेयरस्टोले सानदार सुरुवात दिलाएका थिए । टिमलाई सानदार सुरुवात दिलाउने क्रममा यी दुईबीच ७७ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।
दशौं ओभरको तेस्रो बलमा टिमले पहिलो विकेटका रुपमा वार्नरलाई गुमाएको थियो । स्पिनर अमित मिश्राको बलमा विकेटकिपर ऋषभ पन्तको हातबाट क्याच आउट हुनुअघि उनले ३३ बलको सामना गर्दै ३ चौका र २ छक्कासहित ४५ रन बनाएका थिए ।
वार्नर आउट भएपछि बेयरस्टोलाई साथ दिन मनिष पाण्डे मैदानमा आएका थिए । तर उनि भने धेरै बेरसम्म टिक्न सकेनन् । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका मनिषले मात्र ३ रन बनाए । उनलाई पनि अमित मिश्राले पभेलियनको बाटो देखाईदिएका थिए ।
त्यसपछि टिमको इनिङलाई बेयरस्टो र केन विलियमसनले अगाडि बढाए । यी दुईबीच तेस्रो विकेटका लागि ५२ रनको साझेदारी हुन् पुगेको थियो । १७ .५ ओभरमा टिमको स्कोर १ सय ४४ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन् पुगेका बेयरस्टोले अर्धशतकीय पारी खेले । रबाडाको बलमा आउट हुन् पुगेका उनले ४८ बलको सामना गर्दै २ चौका र १ छक्कासहित ५३ रन बनाए ।
यस्तै अन्त्यतिर केन विलियमसनले ४१ तथा अब्दुल समादले १२ रन जोडेका थिए ।
बलिङतर्फ दिल्लीका लागि अमित मिश्रा र कगिसो रबाडाले समान २/२ विकेट हात पारेका थिए ।
अब हैदराबादले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी चुनौतीलाई पछ्याउदै दिल्लीले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।