बेंगलोरले मुम्बईलाई दियो विशाल विजयी लक्ष्य

बेंगलोरले मुम्बईलाई दियो विशाल विजयी लक्ष्य

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आफ्नो तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्ससामू विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर २ सय १ रन बनाएको छ ।

खेलमा बेंगलोरले सुरुवात निकै राम्रो पाएको थियो । ओपनरद्वय देवदत्त पडिक्कल र आरोन फिन्चले टिमका लागि ठोस सुरुवात दिलाउने क्रममा ८१ रनको ओपनिङ साझेदारी गरेका थिए ।

नवौं ओभरका अन्तिम बलमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका आरोनले ५२ रन बनाए । ट्रेंट बोल्टको बलमा किरोन पोलाण्डको हातबाट क्याच आउट हुनुअघि उनले उक्त अर्धशतकीय पारी खेल्ने क्रममा ३५ बलमा ७ चौका र १ छ्क्का प्रहार गरेका थिए ।

आरोन आउट भएपछि देवदत्तलाई साथ दिन कप्तान विराट कोहली मैदानमा आएका थिए । तर उनि यस खेलमा पनि असफल हुन् पुगे । यसअघिका दुई खेलमा पनि सस्तैमा आउट हुन् पुगेका विराटले यस खेलमा पनि मात्र ३ रन जोडे ।

१३ औं ओभरको दोस्रो बलमा उनलाई राहुल चाहारले पभेलियनको बाटो देखाईदिएका थिए । त्यसपछि भने बेंगलोरको पारीलाई ओपनर ब्याट्सम्यान देवदत्त र एबी डि भिलिअर्सले अगाडि बढाए । यी दुईबीच तेस्रो विकेटका लागि ६२ रनको साझेदारी हुन् पुगेको थियो ।

१७.१ ओभरमा टिमको स्कोर १ सय ५४ रन हुँदा तेस्रो विकेटका रुपमा देवदत्त आउट हुन् पुगेका थिए । ट्रेंट बोल्टको बलमा आउट हुनुअघि उनले ४० बलको सामना गर्दै ५ चौका र २ छ्क्कासहित ५४ रनको योगदान गरे ।

अत्यमा एबी डि भिलिअर्सले अविजित रहदै ५५ रन र शिभम दुबेले पनि अविजित रह्दै २७ रन जोडेपछि बेंगलोरले विशाल योगफल खडा गर्न सफल भएको छ ।
अब बेंगलोरले दिएको २ सय २ रनको विजयी चुनौतीलाई पछ्याउँदै मुम्बईले अबको केहिबेर पछि जवाफी ब्याटिङ गर्नेछ ।