
जापानबाट कुन्दनलाई ठूलो आर्थिक सहयोग प्राप्त
काठमाडौं (अनलाइन खेल खबर )। दुबै मिर्गौला फेल भई डायलोसिसको साहारामा रहेका क्रिकेट खेलाडी कुन्दन सिंह राजपुतलाई जापानबाट ठूलो आर्थिक सहयोग प्राप्त भएको छ ।
कुन्दनलाई सहयोग गर्ने क्रममा जापानको ओसाकामा रहेको एमआरआर जापान र स्टार ग्रुपले संयुक्त रुपमा ८९ हजार ४ सय ६३ नेपाली रुपैयाँ सहयोग गरेको हो । जून सहयोग रकम सागर निरौलाको संयोजकत्वमा संकलन भएको थियो । सहयोग रकम संकलन गर्ने क्रममा जापानमा मैत्रीपूर्ण खेल समेत भएको थियो ।
उक्त संकलित रकम निरौलाले नेपालमा कुन्दन सिंह बचाउँ अभियान चलाईरहेका युवा क्रिकेट अभियन्ता विज्ञान कार्कीमार्फत कुन्दनलाई प्रदान गरेका छन् ।
यता अहिले कुन्दन चिकित्सकको सल्लाह अनुरुपनै मिर्गौला दाताको खोजीमा रहेका छन् । यदी दाता मिलेको खण्डमा उनले मिर्गौला प्रत्यारोपण गर्ने सोच बनाएका छन् ।
दुबै मिर्गौला फेल भई जिवनसँग संघर्ष गरिरहेका कुन्दनलाई करिब ९ महिनासम्म कसैले सहयोग गरेको थिएन । आर्थिक अभावकै कारण उपचारमा थप कठिनाई आउँन थालेपछी उनि थप चिन्तित थिए । त्यसबीचमा प्रदेश २ क्रिकेट संघले १ लाख सहयोग गर्दा उनलाई केही राहत मिलेको थियो ।
त्यसपछि उनको दुख र कठिनाईलाई मलम लगाउन २० वर्षिय युवा विज्ञान कार्की अगाडी बढे । जसमा उनको मार्गलाई पछ्याउँदै अन्य अभियान्ताहरु पनि जोडिए । त्यसैको फलस्वरुप स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट कुन्दनले राम्रो साथ पाए । जसले गर्दा अहिले कुन्दनलाई ठूलो राहत मिलेको छ ।