पन्जाबसँग बेंगलोरको लज्जास्पद हार
एजेन्सी । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल ) मा लज्जास्पद हार ब्यहोरेको छ ।
बिहिबार राति भएको प्रतियोगिताको छ्टौं खेलमा बेंगलोरले लज्जास्पद हार ब्यहोर्ने क्रममा किंग्स इलाभेन पञ्जाबसँग ९७ रनले पराजित हुन् पुगेको छ ।
खेलमा पञ्जाबले प्रस्तुत गरेको २ सय ७ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बेंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा सिमीत हुन् पुगेपछि खेल पञ्जाबले आफ्नो पक्षमा पार्न सफल भयो ।
विशाल विजयी लक्ष्यलाई पछ्याएको भएपनि बेंगलोरको ब्याटिङ सुरुवात देखिनै धमलिएको थियो ।
पहिलो ओभरको चौथो बलमा ओपनर देवदत्तलाई १ रनमा गुमाएको बेंगलोरले त्यसपछि क्रमशः सस्तैमा आफ्नो विकेट गुमाउँदै गयो ।
त्यस क्रममा अर्का ओपनर आरोन फिन्च २० रन , वाशिंगटन सुन्दरले ३० रन तथा एबी डिविलियर्सले २८ रनको योगदान गर्दा शिभम दुबेले ११ रन बनाउँदा कप्तान विराट कोहली भने १ रनमा आउट हुन् पुगेका थिए ।
बेंगलोरकोको ब्याटिङ ध्वस्त पार्ने क्रममा पञ्जाबका रवि बिश्नोई र मुरुगन अश्विनले समान ३/३ विकेट हात पारेका थिए । भने शेल्डन कोटरलले २ तथा मोहम्मद शामी र ग्लेन म्याक्सवेलले पनि १/१ विकेट लिएका थिए ।
त्यसअघि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बेंगलोरलले टस जितेर पञ्जाबलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो । जसअनुसार पञ्जाबले निर्धारित २० ओभर पूरै सामना गर्दै मात्र ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।
टिमले सानदार ब्याटिङ गर्ने क्रममा ओपनर तथा विकेट किपर ब्याटिङ लोकेश राहुलले अविजित रहदै १ सय ३२ रनको पारी एक्लैले खेलेका थिए ।
६९ बलको सामना गरेका उनले १४ चौका र ७ छ्क्कासहित उक्त रन बनाएका थिए । यस्तै टिमका लागि अर्का ओपनर मंयक अग्रवालले २६ रन तथा निकोलस पूरनले १७ रन , ग्लेन मैक्सवेलले ५ रन बनाउँदा करुण नायर १५ रनमा अविजित रहे ।
बलिङतर्फ बेंगलोरका सिभम दुबेले २ तथा युजवेंद्र चहलले १ विकेट लिएका थिए ।
योसँगै आईपीएलमा दुई खेल खेलेको पञ्जाब १ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै २ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा पञ्जाब दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । यता पञ्जाबसँग पराजित भएको बेंगलोरले यसअघि पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । र अहिले बेंगलोर अंकतालिकाको छटौंस्थानमा रहेको छ ।
यता प्रतियोगितामा आज नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच प्रतिष्पर्दा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।