महिला खेलाडी पहिलो पटक केन्द्रिय सम्झौतामा समावेश : पुरुष खेलाडीको तलब बढ्यो

महिला खेलाडी पहिलो पटक केन्द्रिय सम्झौतामा समावेश : पुरुष खेलाडीको तलब बढ्यो

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० को लागि पुरुष र महिला खेलाडीको केन्द्रिय सम्झौता गरेको छ ।

चितवनमा मंगलबार भएको कार्यसमितिको बैठकपछि खेलाडीलाई क्यानले सूचीगत गरेको जानकारी गराएको छ ।

जसअन्तर्गत पुरुषतर्फ १८ खेलाडी र १९ महिला खेलाडीहरु रहेका छन् । महिला खेलाडीको हकमा भने केन्द्रिय सम्झौता गरिएको पहिलोपटक हो । यस वर्ष देखि अब क्यानको केन्द्रिय सम्झौतामा महिला क्रिकेट पनि समावेश गरिएको छ ।

सम्झौता अनुसार पुरुष र महिला खेलाडीलाई तीन श्रेणीमा राखिएको छ । सोही अनुसार खेलाडी मासिक तलब पाउँने छ । पुरुष खेलाडीको हकमा ए श्रेणीको खेलाडीले मासिक ५० हजार , बी श्रेणीको खेलाडीले ४० र सी श्रेणीको खेलाडीले ३० हजार मासिक तलब पाउँने छन् ।

यता पहिलो पटक समावेश गरिएको महिला खेलाडीको हकमा ए श्रेणीको खेलाडीले १५ हजार , बी श्रेणीको खेलाडीले १२ र सी श्रेणीको खेलाडीले १० हजार मासिक तलब पाउँने छन् ।

यता चितवनमा बसेको क्यान कार्यसमिति बैठकले आफ्नो पहिलो साधारणसभा असोज २८ गते गर्ने निर्णय गरेको छ भने मंसिर महिनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप ) सँग समन्वय गरी महिला र पुरुष प्रधानमन्त्री कप संचालन गर्ने क्यानले बताएको छ ।

यसका साथै आईसीसीसँग समन्वय गरी डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारी पनि गर्ने क्यानले निर्णय गरेको छ । यस्तै कर्णाली प्रदेशको संयोजकको रुपमा क्यानले पदक खड्कालाई जिम्मेवारी सुम्पेको छ ।

पुरुष टोलीको नयाँ ग्रेड

ग्रेड ‘ए’ : ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी ।

ग्रेड ‘बी’: सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ ।

ग्रेड ‘सी ‘: सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी ।

महिला टोलीको ग्रेड

‘ए’ श्रेणी: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर र करुणा भण्डारी ।

‘बी’ श्रेणी: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ र सरिता मगर ।

‘सी’ श्रेणी: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द र सोभा आले ।