आईपीएलमा राजस्थानको सानदार सुरुवात
एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा राजस्थानले गत संस्करणको उप-विजेता चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको छ ।
गएराति सम्पन्न भएको खेलमा राजस्थानले प्रस्तुत गरेको २ सय १७ रनको विजयी लक्ष्यलाई पछ्याएको चेन्नई निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर २ सय रनमा सिमित भएपछि खेल राजस्थानले आफ्नो पक्षमा पारेको हो ।
विशाल विजयी चुनौतीलाई पछ्याएको चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक धेरै रन बनाए । ३७ बलको सामना गरेका उनले १ चौका र ७ छ्क्कासहित ७२ रनको योगदान गरे ।
यस्तै ओपनर ब्याट्सम्यानद्वय मुरली विजय र शेन वाट्सनले क्रमशः २१ र ३३ रन बनाएका थिए भने केदार जाधवले २२ रन ,साम कुर्रानले १७ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनी २९ रनमा अविजित रहेका थिए ।
बलिङतर्फ राजस्थानका राहुल तेवाटियाले ३ तथा टम कुरान , श्रेयस गोपाल र जोफ्रा आर्चर, राहुलले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो ।
टिमले विशाल योगफल खडा गर्ने क्रममा उसका लागि भारतीय विकेट किपर ब्याट्सम्यान सन्जु सैमसनले सर्वाधिक ठूलो पारी खेले । मात्र ३२ बलको सामना गरेका उनले १ चौका र ९ छ्क्कासहित ७४ रन बनाएका थिए ।
सैमसनसँगै टिमका कप्तान स्टीवन स्मिथको पनि ब्याटिङ चलेको थियो । महत्वपूर्ण पारी खेल्ने क्रममा उनले पनि ६९ रन बनाएका थिए । ४७ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ४ चौका र ४ छ्क्का प्रहार गरे ।
यस्तै टिमका लागि अत्यमा तीब्र गतिका बलर जोफ्रा आर्चरले पनि आक्रमक ब्याटिङ गरेपछी टिमको विशाल योगफल सम्भव भएको हो । अविजित रहेका उनले मात्र ८ बलमा ४ छक्कासहित २७ रन बनाएका थिए ।
बलिङतर्फ चेन्नईका साम कुरानले ३ तथा दिपक चाहर , लुंगी एनगिडी र पीयूष चावलाले समान १/१ विकेट लिएका थिए ।
यसरी राजस्थानले प्रतियोगितामा सुखद सुरुवात गर्दा चेन्नईले भने पहिलो पराजय ब्यहोरेको छ । यसअघि चेन्नईले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो ।
यता प्रतियोगितामा आज बुधबार कोलकता र मुम्बई आमने सामने हुनेछन् । यी दुईबीचको खेल नेपाली समय अनुसार राति पौने आठ बजेपछि आबुधावीस्थित शेख जायद रंगशालामा हुनेछ ।