चेन्नईको विजयी सुरुवात

चेन्नईको विजयी सुरुवात

एजेन्सी । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) को उद्घाटन खेलमा विजयी भएको छ ।

प्रतियोगिताको पहिलो खेलमै जित हासिल गर्ने क्रममा चेन्नईले साविकको विजेता समेत रहेको मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्न सफल भयो ।

खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी चुनौतीलाई चेन्नईले ४ बल बाँकी छ्दैं पूरा गर्यो ।

प्रतिस्पर्धात्मक लक्ष्यलाई पछ्याएको भएपनि चेन्नई सुरुवात भने सोचे अनुरुप पाएन । १.६ ओभरमा टिमको स्कोर ६ रन हुँदा चेन्नईले ओपनरद्वय विजय मुरली र शेन वाटसनलाई सस्तैमा गुमाएको थियो । यी दुईले क्रमशः १ र ४ रनमा आउट हुन् पुगेका थिए ।

ओपनरलाई सस्तैमा गुमाएपछि भने चेन्नईका लागि फाफ डु प्लेसिस र अंबाती रायडूको जोडीले राम्रो प्रदर्शन गरे । यी दुईबीच तेस्रो विकेटका लागि १ सय १५ रनको साझेदारी हुन् पुगेको थियो ।

१५.६ ओभरमा टिमको स्कोर १ सय २१ रन हुँदा तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका रायडूले इनिङकै सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ७१ रन बनाएका थिए । उनले उक्त रन बनाउने क्रममा ४८ बलको सामना गर्दै ६ चौका र ३ छ्क्कासमेत प्रहार गरे ।

यस्तै टिमलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका फाफ डु प्लेसिस अविजित रहदै ५८ रन बनाए भने रविन्द्र जडेजाले १० रन र साम कुरानले १८ रन जोडेका थिए ।

बलिङतर्फ मुम्बईका जेम्स प्याटिनसन, राहुल चहर, ट्रेंट बाउल्ट,जसप्रीत बुमराह र क्रुणाल पांड्याले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि आबुधावीस्थित शेख जायद रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियनले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

सम्मानजनक स्कोर बनाउने क्रममा मुम्बई इन्डियनले सुरुवात पनि राम्रो गरेको थियो । जसमा ओपनर ब्याट्सम्यान रोहित शर्मा र क्विन्टन डि कोकले ४६ रनको ओपनिङ साझेदारी गरेका थिए।

४.४ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका रोहितले १२ रन बनाएका थिए ।

रोहित आउट भएपछि अर्का ओपनर क्विन्टन डि कोक पनि लगत्तै आउट हुन् पुगेका थिए । ५.१ ओभरमा साम कुर्रानको बलमा क्याच आउट हुन् पुगेका उनले ३३ रन बनाए । उनले उक्त रन बनाउने क्रममा २० बलको सामना गर्दै ५ चौका समेत प्रहार गरेका थिए ।

ओपनरले ठोस सुरुवात दिलाएको मुम्बईका लागि त्यसपछि सुर्य कुमार यादवले १७ रन र सौरभ तिवारीले ४२ रनको योगदान गरे । त्यसपछि हार्दिक पाण्डेयाले १४ रन र किरोन पोलार्डले १८ रन थपेपछि टिम सम्मानजनक स्कोरसम्म पुग्न सफल भएको थियो।

बलिङतर्फ चेन्नईका लागि लुंगी एनगिडीले सर्वाधिक ३ तथा रवीन्द्र जडेजा र दिपक चाहरले समान २/२ विकेट लिएका थिए । भने पियुश चावला र साम कुरानले पनि १/१ विकेट हात पारेका थिए ।

यता प्रतियोगितामा आज नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पंजाबको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।