मुम्बईले दियो चेन्नईलाई सम्मानजनक विजयी लक्ष्य
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत अहिले उद्घाटन खेलमा साविकको विजेता मुम्बई इन्डियनले चेन्नई सुपर किंग्सको सामना गरिरहेको छ ।
आबुधावीस्थित शेख जायद रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको मुम्बई इन्डियनले निर्धारित २० ओभर पूरै ब्याटिङ गर्दै ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको छ ।
सम्मानजनक स्कोर बनाउने क्रममा मुम्बई इन्डियनले सुरुवात पनि राम्रो गरेको थियो । जसमा ओपनर ब्याट्सम्यान रोहित शर्मा र क्विन्टन डि कोकले ४६ रनको ओपनिङ साझेदारी गरेका थिए। ४.४ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका रोहितले १२ रन बनाए ।
रोहित आउट भएपछि अर्का ओपनर क्विन्टन डि कोक पनि लगत्तै आउट हुन् पुगे । ५.१ ओभरमा साम कुर्रानको बलमा क्याच आउट हुन् पुगेका उनले ३३ रन बनाए । उनले उक्त रन बनाउने क्रममा २० बलको सामना गर्दै ५ चौका समेत प्रहार गरेका थिए ।
ओपनरले ठोस सुरुवात दिलाएको मुम्बईका लागि त्यसपछि सुर्य कुमार यादवले १७ रन र सौरभ तिवारीले ४२ रनको योगदान गरे । त्यसपछि हार्दिक पाण्डेयाले १४ रन र किरोन पोलार्डले १८ रन थपेपछि टिमले यो स्कोरसम्म पुग्न सफल भयो ।
बलिङतर्फ चेन्नईका लागि लुंगी एनगिडीले सर्वाधिक ३ तथा रवीन्द्र जडेजा र दिपक चाहरले समान २/२ विकेट लिएका थिए । भने पियुश चावला र साम कुरानले पनि १/१ विकेट हात पारेका थिए ।
अब मुम्बईले प्रस्तुत गरेको १ सय ६३ रनको विजयी चुनौतीलाई पछ्याउंदै चेन्नईले अबको केहि बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।