म्याक्सवेल र केरीको सानदार प्रदर्शनमा एकदिवसीय सिरिज अष्ट्रेलियालाई
एजेन्सी । ग्लेन म्याक्सवेल र एलेक्स केरीले उत्कृष्ट शतकीय पारी खेलेपछि अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा ३ विकेटले जित हासिल गरेको छ । यो सँगै सिरिज पनि अष्ट्रेलियाले २-१ ले आफ्नो नाममा समेत लेखाउन सफल भएको छ । यसअघि सिरिज अन्तर्गत पहिलो खेल अष्ट्रेलिया १९ रनले विजयी भएको थियो भने दोस्रो खेल २४ रनले गुमाएको थियो ।
गएराति भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले उक्त चुनौतीलाई ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
विशाल योगफललाई पछ्याएको भएपनि अष्ट्रेलियाका आक्रमक अलराउण्डर म्याक्सवेल र केरीले सानदार प्रदर्शन गरेपछि अष्ट्रेलियाको जित सम्भव भएको हो । १६.५ ओभरमा टिमको स्कोर ७३ रन हुँदा आफ्नो महत्वपूर्ण ५ विकेट गुमाईसकेको अष्ट्रेलियाको पारीलाई म्याक्सवेल र क्यारीले अगाडी बढाएका थिए ।
यी दुईबीच छठौ विकेटका लागि २ सय १२ रनको साझेदारी हुन् पुगेको थियो ।
४७.३ ओभरमा टिमको स्कोर २ सय ८५ रन हुँदा छठौ विकेटका पभेलियन फर्किएका म्याक्सवेलले ९० बलको सामना गर्दै ४ चौका र ७ छक्कासहित १ सय ८ रन बनाएका थिए । यो उनको एकदिवसीय क्रिकेटमा दोस्रो शतक समेत हो ।
यस्तै अर्का विकेट किपर ब्याट्सम्यान एलेक्स केरीले पनि शतक पूरा गरे । क्रिकेट यात्राकै पहिलो शतकीय पारी खेल्ने क्रममा उनले १ सय १४ बलको सामना गर्दै ७ चौका र २ छक्कासहित १ सय ६ रनको योगदान गरे । यी बाहेक अष्ट्रेलियाका लागि ओपनर डेविट वार्नरले २४ रन , मार्नस लाबुसेनले २० र कप्तान आरोन फिन्चले १२ रन बनाएका थिए ।
बलिङतर्फ इंग्ल्यान्डका जो रुट र क्रीस वोक्सले समान २/२ विकेट हात पारेका थिए भने जोफ्रा आर्चर र अदिल राशिदले पनि १/१ विकेट लिएका थिए ।
त्यसअघि म्यानचेस्टरस्थित एमिरेट्स ओल्ड ट्र्याफर्डमा भएको खेलमा टस जितेर घरेलु टोली इंग्ल्यान्डले सुरुमा ब्याटिङ गर्दै निर्धारित ५० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।
विशाल योगफल खडा गर्ने क्रममा इंग्ल्यान्डका जोनी बेयरस्टोले शतकीय पारी खेलेका थिए । ओपनर ब्याट्सम्यान समेत रहेका उनले शतक प्रहार गर्ने क्रममा १ सय २६ बलको सामना गर्दै १२ चौका र २छक्कासहित १ सय १२ रन बनाए । यस्तै टिमका लागि साम बिलिंग्सले ५७ तथा क्रिस वोक्सले ५३ रनको योगदान गरेका थिए ।
बलिङ तर्फ अष्ट्रेलियाका मिशेल स्टार्क एडम जम्पाले समान ३/३ विकेट हात पारेका थिए भने प्याट कमिन्सले पनि १ विकेट लिएका थिए ।
एकदिवसीय सिरिज गुमाएको भएपनि घरेलु टोली इंग्ल्यान्डले यसअघि भएको तीन खेलको टि –ट्वान्टी सिरिज भने २-१ ले जितेको थियो । अब अष्ट्रेलिया र इंग्ल्यान्डका केहि खेलाडीहरु युएईमा यहीं शनिबारबाट सुरु हुने इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा सहभागी जनाउने छन् ।