
सिरिजको पहिलो खेलमा अष्ट्रेलिया विजयी
एजेन्सी । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया विजयी भएको छ ।
शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले जित हासिल गर्ने क्रममा इंग्ल्यान्ड १९ रनले पराजित हुन् पुगेको छ ।
खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ९५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभर पूरै खेलेपनि ९ विकेट गुमाएर २ सय ७५ रनमा सिमित हुन् पुगेपछि नतिजा अष्ट्रेलियाले आफ्नो पक्षमा पार्न सफल भयो ।
इंग्ल्यान्डका लागि मध्य क्रममा ब्याट्सम्यान साम बिलिंग्सले सानदार प्रदर्शन गरे । आफ्नो क्रिकेट यात्रामा पहिलो एकदिवसीय शतकीय पारी खेल्ने क्रममा १ सय १८ रन बनाएका थिए । ११० बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा १४ चौका र २ छ्क्का समेत प्रहार गरे ।
साम बिलिंग्स बाहेक टिमका लागि ओपनर ब्याट्सम्यान जोनी बेयरस्टोको पारी पनि महत्वपूर्ण रहयो । १ सय ७ बलको सामना गरेका उनले ४ चौका र ४ छ्क्कासहित ८४ रन बनाएका थिए ।
यस्तै टिमका लागि कप्तान इयोन मोर्गनले २३ रन जोड्दा अन्य खेलाडीहरुले भने दोहोरो अंक समेत जोड्न सकेनन् र इंग्ल्यान्ड पहिलो खेलमै निराश हुन् पुग्यो ।
बलिङतर्फ अष्ट्रेलियाका एडम जम्पाले सर्वाधिक ४ तथा जोश हेजलवुडले ३ विकेट लिएका थिए भने प्याट कमिन्स र मिशेल मार्शले पनि समान १/१ विकेट लिएका थिए ।
त्यसअघि म्यान्चेस्टरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभर पूरा खेल्दै ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो ।
टिमले राम्रो योगफल खडा गर्ने क्रममा अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यानको रुपमा परिचित ग्लेन म्याक्सवेलले सर्वाधिक ठूलो पारी खेलेका थिए । जोफ्रा आर्चरको बलमा आउट हुनुअघि उनले ५९ बलको सामना गर्दै ४ चौका र ४ छ्क्कासहित ७७ रनको योगदान गरेका थिए ।
यस्तै अष्ट्रेलियाका लागि मिशेल मार्शले ७३ तथा मार्कस स्टोइनिसले ४३ रनको योगदान गर्दा मार्नस लाबुसेनले २१ र कप्तान आरोन फिन्चले १६ रन बनाएका थिए ।
बलिङतर्फ इंग्ल्यान्डका जोफ्रा आर्चर र मार्क वुडले समान ३/३ विकेट हात पारे भने आदिल राशिदले २ र क्रिस वोक्सले १ विकेट लिएका थिए ।
अब सिरिजको दोस्रो खेल आईतबार हुनेछ । भने तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । यस सिरिज अघि यी दुईबीच तीन खेलको टी- ट्वान्टी सिरिज भएको थियो । जसमा घरेलु टोली इंग्ल्यान्ड २-१ ले विजयी भएको थियो ।