सिपीएलमा नाइट राईडर्स चौथो पटक च्याम्पियन
एजेन्सी । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपीएल ) को उपाधि त्रिनबागो नाइट राईडर्सले उचालेको छ ।
बिहिबार राति भएको प्रतियोगिताको फाइनल खेलमा सेन्ट लुसियालाई ८ विकेटले पराजित गर्दै नाइट राईडर्स च्याम्पियन बनेको हो । नाइट राईडर्ससँगै सिपीएलमा चौथो पटक च्याम्पियन बनेको छ । यसअघि नाइट राइडर्सले सन् २०१५, २०१७ र २०१८ मा पनि उपाधि उचालेको थियो ।
यता खेलमा सेन्ट लुसियाले प्रस्तुत गरेको १ सय ५५ रनको विजयी चुनौतीलाई नाइट राईडर्सले १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।
टिमलाई च्याम्पियन बनाउने क्रममा नाइट राईडर्सका ओपनर ब्याट्सम्यान लेन्डल सिमन्स र ड्वेन ब्राभोले सानदार ब्याटिङ गरे । जसअन्तर्गत अविजित रहेका सिमन्सले ४९ बलको सामना गर्दै ८ चौका र ४ छ्क्कासहित ८४ रन बनाए । यस्तै ब्राबोले पनि अविजित रहदै ५८ रनको योगदान गरेका थिए ।
त्यसअघि टिम सेफर्ट ४ रन र टियान वेब्स्टर ५ रनमा आउट भएका थिए ।
बलिङतर्फ सेन्ट लुसियाका स्कट कुग्लेइजन र रस्टन चेजले समान १/१ विकेट हात पारेका थिए ।
त्यसअघि ब्रायन लारा क्रिकेट एकेडेमीमा भएको फाइनल खेलमा टस हारेर सेन्ट लुसियाले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
सिपीएलको इतिहासमा पहिलोपटक फाइनल खेलेको सेन्ट लुसियाले सम्मानजनक योगफल खडा गर्ने क्रममा उसका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ठूलो पारी खेलेका थिए । २७ बलको सामना गरेका उनले ४ चौका र २ छ्क्कासहित ३९ रनको योगदान गरेका थिए ।
यस्तै ओपनर ब्याट्सम्यान मार्क डियालले २९ रन , नजिबुल्ला जार्दानले २४ रन तथा रस्टन चेजले २२ रन बनाएका थिए ।
बलिङतर्फ नाइट राईडर्सका कप्तान किरोन पोलार्डले सर्वाधिक ४ विकेट लिए भने अलि खान र फवाद खानले समान २/२ विकेट हात पार्दा अकेल होसेनले पनि १ विकेट लिन सफल भएका थिए ।