क्रिकेट खेलाडीलाई बाँकी एक वर्षको तलब प्राप्त

क्रिकेट खेलाडीलाई बाँकी एक वर्षको तलब प्राप्त

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली क्रिकेट खेलाडीले बाँकी रहेको एक वर्षको तलब प्राप्त गरेका छन् ।

बिहिबार नेपाल क्रिकेट संघ (क्यान ) ले सन् २०१९ सम्मको तलब खेलाडीलाई प्रदान गरेको उल्लेख गरेको छ । जस अन्तर्गत अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) बाट वर्गीकरण भएका २२ जना खेलाडीहरुले आफ्नो बाँकी रहेको तलब प्राप्त गरेका हुन् ।

जसमा पूर्व निर्धारित रकम भन्दा १० हजार थपिएको छ । केही दिनअघि क्यानले आईसीसीलाई तलब निकासाका लागि नेपाली खेलाडीको हस्ताक्षरसहितको डकुमेन्ट पठाएको थियो ।जसमा क्यानले खेलाडीको तलबमा केही थपेर पठाउन समेत आग्रह गरेको थियो ।

त्यसैको फलस्वरुप आईसीसीले क्यानको आग्रहलाई स्वकार्दै खेलाडीलाई थपेर तलब निकासा गरेको हो।

सन् २०१८ मा अन्तिमपटक नेपाली खेलाडीले तलब पाएका थिए । तत्कालीन समयमा नेपाल क्रिकेट संघ ( क्यान )निलम्बन रहेको हुँदा खेलाडीको तलब देखि सबै आईसीसीले नै हेर्दै आएको थियो ।

तलबका सम्बन्धमा त्यसबेला आईसीसीले नेपाली खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेको थियो । सोही आधारमा खेलाडीले एक वर्षको बाँकी रहेको तलब पाएका हुन् ।

यो तलबपछि अब आईसीसीको निलम्बनबाट सर्तसहित फुकुवा भएको क्यानले नयाँ वर्गीकरण गर्दै खेलाडीलाई तलब आफैले प्रदान गर्नेछ । त्यसको तयारी पनि लगभग सकिएको छ ।

क्यानले यसपटकबाट पुरुषसँगै महिला खेलाडीलाई पनि वर्गीकरण गर्दै तलब दिने घोषणा गरिसकेको छ ।

श्रेणीगत २२ खेलाडीहरु –
ए श्रेणी (४५ हजार प्रति महिना ) : ज्ञानेन्द्र मल्ल , पारस खड्का,विनोद भण्डारी , दिपेन्द्र सिंह एरी, करन केसी , सन्दीप लामिछाने , शरद भेषावकर र सोमपाल कामी

बी श्रेणी(३५ हजार प्रती महिना ) : अभिनास बोहरा , मोहम्मद आरिफ शेख , बसन्त रेग्मी , ललित नारायण राजबम्शि , पवन सरार्फ , रोहित पौडेल , सन्दीप जोरा र सुशन भारी
सी श्रेणी(२५ हजार प्रती महिना ) : ईशान पाण्डे , कुशल भुर्तेल , कुशल मल्ल , प्रदिप एरी, राजु रिजाल र राशिद खान