सन्दीपको टिम जमैकालाई हराउँदै नाइट राईडर्स फाइनलमा

सन्दीपको टिम जमैकालाई हराउँदै नाइट राईडर्स फाइनलमा

एजेन्सी । कीरोन पोलार्डको कप्तानीमा रहेको त्रिनबागो नाइट राईडर्स क्यारेबियन प्रिमियर लिग (सिपीएल ) को फाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने सम्मलित दुईपटकको च्याम्पियन समेत रहेको जमैका तल्लाबाजलाई ९ विकेटले पराजित गर्दै नाइट राईडर्स फाइनल प्रवेश गरेको हो ।

यो सँगै सिपीएलको सर्वाधिक सफल टिम नाइट राईडर्स चौथोंपटक फाइनल पुगेको छ । त्यस क्रममा नाइट राईडर्सले सन् २०१५ , २०१७ र २०१८ को सिजन जितेको थियो ।

यता खेलमा जमैकाले प्रस्तुत गरेको १ सय ८ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नाइट राईडर्सले उक्त चुनौतीलाई १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई फाइनल पुर्याउने क्रममा नाइट राईडर्सका लागि लेंडल सिमंसले सर्वाधिक ठूलो योगदान गरे । अविजित रहेका उनले ५४ रन बनाए भने उनलाई साथ दिएका टियॉन वेबस्टरले पनि ४४ रन जोडे । यस्तै मुजिव उर रह मानको बलमा आउट हुन् पुगेका ओपनर ब्याट्सम्यान सुनिल नारायणले ४ रन बनाएका थिए ।

यता सन्दीपले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गर्दै २९ रन खर्चिएका थिए ।यो खेलमा विकेट विहिन भएपनि सन्दीपले प्रतियोगिता भर कुल १२ विकेट लिन सफल भए ।

त्यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

पहिलो ओभरको चौथों बलमा ओपनर ब्याट्सम्यान जेर्मेन ब्ल्याकवुडलाई शून्य रनमा गुमाएको जमैकाले अर्का ओपनर ग्लेन फिलिप्सलाई पनि ब्यक्तिगत २ रनमा गुमाएपछि जमैका सुरुवाती अवस्थाबाटै दबाबमा आएको थियो ।

त्यसबीचमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अफगानिस्तानका स्पिनर मुजिव उर रहमानको रणनीति पनि काम गरेन । उनि ३ बलको सामना गर्दै ब्राबोको हातबाट क्याच आउट हुँदै पभेलियन फर्किए ।

२.४ ओभरमा टिमको स्कोर १० रन हुँदा तीन विकेट गुमाईसकेको जमैकाका लागि एनक्रुमा बोनरले एकतर्फबाट पारी अगाडी बढाईरहे । त्यस क्रममा उनले टिमका लागि ४१ रनको योगदान गरेपछि टिमले केही राहत महशुस गरेको थियो । पाँचौ विकेटका रुपमा पभेलियन फर्किएका उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै ५ चौकासमेत प्रहार गरे ।

यस्तै कप्तान रोभम्यान पावेलले पनि ३३ रनको योगदान गर्दा अन्य खेलाडीले निराशाजनक प्रदर्शन गर्दा टिम झिनो योगफलमा सिमित हुन् बाध्य भएको थियो ।

बलिङतर्फ नाइट राइडर्सका अकील होसिनले ३ तथा ख्यारी पियरेले २ विकेट लिएका थिए । यस्तै सुनिल नारायण र फवाद अहमदले पनि १/१ विकेट लिएका थिए ।

अब नाइट राईडर्सले फाइनलमा गुयाना अमेजन वारियर्स र सेन्ट लुसियाबीचको विजेतासँग बिहिबार खेल्नेछ ।