जमैकाको ब्याटिङ सेमिफाइनलमा पनि चलेन : नाइट राईडर्सले पायो झिनो लक्ष्य
एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपीएल ) को पहिलो सेमिफाइनल खेलमा जमैका तल्लावाजले त्रिनबागो नाइट राईडर्सलाईसामू १ सय ८ रनको विजयी चुनौती प्रस्तुत गरेको छ ।
ब्रायन लारा क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले निकै खराब ब्याटिङ गर्ने क्रममा २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ७ रनमा सिमित हुन् पुगेको छ ।
पहिलो ओभरको चौथों बलमा ओपनर ब्याट्सम्यान जेर्मेन ब्ल्याकवुडलाई शून्य रनमा गुमाएको जमैकाले अर्का ओपनर ग्लेन फिलिप्सलाई पनि ब्यक्तिगत २ रनमा गुमाएपछि जमैका सुरुवाती अवस्थाबाटै दबाबमा आएको थियो ।
त्यसबीचमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अफगानिस्तानका स्पिनर मुजिव उर रहमानको रणनीति पनि काम गरेन । उनि ३ बलको सामना गर्दै ब्राबोको हातबाट क्याच आउट हुँदै पभेलियन फर्किए ।
२.४ ओभरमा टिमको स्कोर १० रन हुँदा तीन विकेट गुमाईसकेको जमैकाका लागि एनक्रुमा बोनरले एकतर्फबाट पारी अगाडी बढाईरहे । त्यस क्रममा उनले टिमका लागि ४१ रनको योगदान गरेपछि टिमले केही राहत महसुस गरेको थियो । पाँचौ विकेटका रुपमा पभेलियन फर्किएका उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै ५ चौकासमेत प्रहार गरे ।
यी बाहेक कप्तान रोभम्यान पावेलले पनि ३३ रनको योगदान गर्दा अन्य खेलाडीले निराशाजनक प्रदर्शन गर्दा टिम झिनो योगफलमा सिमित हुन् बाध्य भयो ।
बलिङतर्फ नाइट राइडर्सका अकील होसिनले ३ तथा ख्यारी पियरेले २ विकेट लिएका थिए । यस्तै सुनिल नारायण र फवाद अहमदले पनि १/१ विकेट लिएका थिए ।
अब जमैकाले प्रस्तुत गरेको १ सय ८ रनको विजयी चुनौतीलाई पछ्याउँदै नाइट राईडर्सले अबको केही बेरपछि जवाफी ब्याटिङ गर्नेछ ।