आज सेमिफाइनलमा जमैकाले नाइट राईडर्सको सामना गर्दै
एजेन्सी । दुईपटकको च्याम्पियन जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सिपीएल) को पहिलो सेमिफाइनल खेलमा आज त्रिनबागो नाइट राईडर्सको सामना गर्दैछ ।
नेपाली समय अनुसार राति पौने आठ बजेपछि सुरु हुने खेलमा जमैका जित निकाल्दै फाइनल पुग्ने रणनीतिका साथ मैदानमा उत्रिने छ ।
तर जमैकाको लिग चरणमा गरेको प्रदर्शनलाई हेर्दा जमैकालाई निकै चुनौतीपूर्ण रहेको छ । लिग चरणमा खेलेको कुल १० खेलमा ३ खेलमा मात्र जमैकाले जित हासिल गर्दा १ खेल रद्द र बाँकी खेल गुमाएको थियो । र लिगमा चौथों स्थानमा रहदै जमैका सेमिफाइनल पुगेको थियो ।
यता किरोन पोलार्डको कप्तानीमा रहेको नाइट राईडर्स भने उच्च लयमा रहेको छ । अपराजित रहदै सेमिफाइनल पुगेको नाइट राईडर्स आफ्नो सोही लयलाई यस खेलमा पनि दोराउने लक्ष्यमा रहेको छ । नाइट राईडर्सले पनि सिपीएलको उपाधि दुईपटक उचालिसकेको छ ।
विशेषत जमैकाको ब्याटिङ पक्षले न्याय गर्न सकिरहेको छैन । यस्तोमा फाइनल पुग्ने हो भने त्यसका लागि आज जमैकाले ब्याटिङमा आमुल सुधार गर्नु पर्नेछ ।
बलिङ भने जमैकाको राम्रो देखिएको छ । जस अन्तर्गत अफगानिस्तानका स्पिनर मुजिव उर रहमान र नेपालका सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरिरहेका छन् । जसमा मुजिवले १५ र सन्दीपले १२ विकेट लिई सकेका छन् ।