onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियाविरुद्धको टी- ट्वान्टी सिरिज इंग्ल्यान्डलाई

एजेन्सी । अष्ट्रेलियाविरुद्धको तीन खेलको टी- ट्वान्टी सिरिजको दोस्रो खेलमा पनि घरेलु टोली इंग्ल्यान्ड विजयी भएपछि इंग्ल्यान्डले सिरिज आफ्नो नाममा लेखाएको छ ।

सिरिज अन्तर्गत आईतबार राति भएको खेलमा इंग्ल्यान्डले पाहुना टोली अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेसँगै एक खेल अगाबै इंग्ल्यान्डले जितेको हो ।

खेलमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले उक्त चुनौतीलाई १८.५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई जित दिलाउने क्रममा जोस बटलरले सर्वाधिक ठूलो योगदान गरेका थिए । ओपनर तथा विकेट किपर ब्याट्सम्यान समेत रहेका बटलरले अविजित रह्दै ५४ बलको सामना गर्दै ८ चौका र २ छ्क्कासहित ७७ रन बनाएका थिए ।

यस्तै टिमका लागि डेविड मालनले ४२ तथा मोइन अलिले अविजित रहदै ७ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जम्पाले पनि १/१ विकेट लिएका थिए ।

त्यसअघि साउथह्याम्पटनस्थित रोज बाउलमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

अष्ट्रेलियाले मध्यम योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर तथा टिमका कप्तान आरोन फिन्चले सर्वाधिक ४० रन बनाएका थिए ।

यस्तै मार्कस स्टोइनिसले ३५ तथा ग्लेन म्याक्सवेल २६ र एस्टन अगरले पनि २३ रनको योगदान गरेका थिए ।

बलिङतर्फ इंग्ल्यान्डका क्रिस जोर्डनले २ तथा आदिल राशिद , मार्क वुड र जोफ्रा आर्चरले पनि समान १/१ विकेट हात पारेका थिए ।

अब सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । टी- ट्वान्टी सिरिज पछि यी दुईबीच तीन खेलको एकदिवसीय सिरिज पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्