अष्ट्रेलियामाथि इंग्ल्यान्डको शनसनिपूर्ण जित

अष्ट्रेलियामाथि इंग्ल्यान्डको शनसनिपूर्ण जित

एजेन्सी । इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तीन खेलको टी- ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि शनसनीपूर्ण जित हासिल गरेको छ ।

शुक्रबार राति भएको निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डले जित हासिल गर्ने क्रममा अष्ट्रेलियालाई २ रनले पराजित गरेको थियो ।

खेलमा इंग्ल्यान्डले दिएको १ सय ६३ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ६० रन बनाएपछि खेल इंग्ल्यान्डले आफ्नो तर्फमा पार्न सफल भयो ।

सम्मानजनक विजयी लक्ष्यलाई पछ्याएको अष्ट्रेलियाले सुरुवात पनि निकै राम्रो गरेको थियो । १०.६ ओभरमा टिमको स्कोर ९८ रन हुँदा टिमका कप्तान तथा ओपनर ब्याट्सम्यान आरोन फिन्चलाई ब्यक्तिगत ४६ रनमा गुमाएको अष्ट्रेलियाले दोस्रो विकेटका रुपमा स्टिभ स्मिथलाई गुमाएको थियो । उनले भने मात्र १८ रन जोडे ।

यस्तै मार्कस स्टोनिसले अविजित रहदै २३ रन जोड्दा डेविट वार्नरले अर्धशतकीय पारी खेले । ४७ बलको सामना गरेका उनले ४ चौकासहित ५८ रनको योगदान गरे ।

टिमलाई अन्तिम ओभरमा जितका लागि १५ रनको आवस्यकता रहेको थियो । ब्याटिङमा मार्कस स्टोइनिस र प्याट कमिन्स र बलिङमा टम कुरान रहेका थिए ।

जसमा पहिलो बल डट हुन् पुग्दा दोस्रो बलमा स्टोइनिसले छ्क्का प्रहार गरे । तेस्रो बल फेरी डट हुन् पुग्यो भने त्यसपछि बाँकी तीन बलमा अष्ट्रेलियाले लगातार २/२ रन बनाएपछि जित नजिक पुगेर पनि अष्ट्रेलिया निराश हुन् पुगेको थियो ।

बलिङतर्फ इंग्ल्यान्डका जोफ्रा आर्चर र आदिल रशीदले समान २/२ विकेट हात पार्दा मार्क वुडले पनि १ विकेट लिएका थिए ।

त्यसअघि साउथह्याम्प्टनस्थित रोज बाउलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

सम्मानजनक स्कोर बनाउँने क्रममा इंग्ल्यान्डले सुरुवात पनि राम्रो गरेको थियो । उसका लागि ओपनर ब्याट्सम्यानद्वय जोस बटलर र जोनि बेयरस्टोले ४३ रनको ओपनिङ साझेदारी गरेका थिए ।

३.६ ओभरमा पहिलो विकेटका रुपमा टिमले बेयरस्टोलाई ब्यक्तिगत ८ रनमा गुमाएको थियो । त्यसपछि अर्का ओपनर जोस बटलर ४४ रन बनाएर आउट हुन् पुगेका थिए । उनले उक्त रन बनाउँने क्रममा २९ बलको सामना गर्दै ५ चौका र २ छ्क्का समेत प्रहार गरे ।

बटलर पभेलियन फर्किएपछि इंग्ल्यान्डले टम बैन्टन र कप्तान इयोन मोर्गनलाई भने सस्तैमा गुमायो । जसमा बैन्टनले ८ रन बनाउँदा मोर्गनले ५ रन मात्र थपे ।

त्यसपछि पनि इंग्ल्यान्डको विकेट पतन रोकिएन । जसमा मोइन अलि २ रन र टम कुरानले ६ रन बनाएर आउट हुन् पुगे ।

एकतर्फ विकेट पतन क्रमशः भईरहेको अवस्थामा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका डेविड मालनले अर्कोतर्फबाट पारीलाई अगाडि बढाईरहे ।

इनिङकै सर्वाधिक ठूलो पारी खेलेका उनले केन रिचर्डसनको बलमा सातौं विकेटका रुपमा आउट हुनुअघि ४३ बलको सामना गर्दै ५ चौका र ३ छ्क्कासहित ६६ रनको योगदान गर्दा क्रिस जोर्डनले १४ रनमा अविजित रहे ।

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल,केन रिचर्डसन र एस्टन अगरले समान २/२ विकेट लिएका थिए । भने प्याट कमिन्सले पनि १ विकेट लिएका थिए ।

अब यी दुईबीचको दोस्रो टी- ट्वान्टी खेल आईतबार हुनेछ ।