मुम्बईले अष्ट्रेलियन खेलाडी जेम्सलाई टिममा भित्रायो !

मुम्बईले अष्ट्रेलियन खेलाडी जेम्सलाई टिममा भित्रायो !

एजेन्सी । आईपीएलका सर्वाधिक सफल श्रीलंकन बलर लसिथ मलिङ्गाले यस संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) नखेल्ने बताएपछि उनको टिम मुम्बईले अष्ट्रेलियन बलरलाई टिममा भित्राएको छ ।

पारिवारिक कारण देखाउँदै मलिङ्गाले आईपीएलमा उपस्थित हुन् नसक्ने बताएपछि उनको स्थानमा मुम्बईले बुधबार अष्ट्रेलियाका तीब्र गतिका बलर जेम्स प्याटिनसनलाई टिममा भित्राएको हो ।

सन् २०११ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला चालेका जेम्सले यसबीचमा अष्ट्रेलियन टोलीबाट २१ टेस्ट , १५ एकदिवसीय र ४ खेल टी- ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । उनले अष्ट्रेलियन टोलीबाट अन्तिमपटक सन् २०२० को जनवरीमा न्युजिल्यान्डविरुद्धको टेस्ट खेल खेलेका थिए ।

३० वर्षिय जेम्स पहिलोपटक आईपीएलमा अनुबन्धित भएका हुन् । मलिङ्गा जस्तो अनुभवी खेलाडीलाई गुमाएको भएपनि जेम्सको आगमनले मुम्बईलाई केहि हदसम्म भएपनि राहत मिलेको छ ।

आईपीएल इतिहासमा सर्वाधिक सफल टिम मुम्बई पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यसहित युएई पुगिसकेको छ । सन् २०१३ मा पहिलोपटक आईपीएलको च्याम्पियन बनेको मुम्बईले त्यसपछि सन् २०१५, २०१७ र अघिल्लो संस्करणमा पनि उपाधि उचालेको थियो ।

गत संस्करणमा मुम्बई च्याम्पियन बन्ने क्रममा फाइनल खेलमा चेन्नई सुपर किंग्सलाई शनसनिपूर्ण १ रनले पराजित गरेको थियो ।

यता यस संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिख सम्म युएईका तीन ठूला शहरमा हुँदैछ ।