केरी र लाबुसेनको उत्कृष्ट शतक

केरी र लाबुसेनको उत्कृष्ट शतक

एजेन्सी । अष्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स केरी र मार्नस लाबुसेनले अभ्यास खेलका दौरान उत्कृष्ट शतकीय पारी खेलेका छन् ।

फाइल फोटो ।

यहीँ शुक्रबार देखि इंग्ल्यान्डसँग हुने सिरिजको तयारीमा जुटिरहेको अष्ट्रेलियन टोलीले अहिले अभ्यास साउथह्याप्टनमा अभ्यास गरिरहेको छ ।

यसक्रममा मंगलबार भएको दोस्रो अभ्यासमा आरोन फिन्च -११ मा रहेका केरी र लाबुसेनले शतक प्रहार गरेका हुन् ।

खेलमा यी दुई ब्याट्सम्यानको शतकीय पारीको मद्दतमा फिन्च -११ ले खेलमा निर्धारित २० ओभर पूरै खेल्दै मात्र ३ विकेट गुमाएर २ सय २९ रनको विशाल योगफल खडा गरेको थियो ।

त्यस क्रममा केरीले सर्वाधिक रन बनाउने क्रममा १ सय ७ रन बनाएका थिए । ६० बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा १२ चौका र ३ छ्क्का समेत प्रहार गरे ।

यस्तै मार्नस लाबुसेनले ५१ बलको सामना गर्दै १२ चौका र ३ छ्क्कासहित सय रन बनाएका थिए । यस्तै टिमका लागि कप्तान फिन्चले ५ रन जोड्दा ग्लेन म्याक्सवेल १० रनमा अविजित रहे । अघिल्लो खेलमा भने म्याक्सवेलले शतकीय पारी खेलेका थिए ।

बलिङतर्फ प्याट कमिन्स ११ का एस्टन अगर, एडम जम्पा र केन रिचर्ड्सनले समान एक – एक विकेट लिएका थिए ।

त्यसपछि फेन्च -११ ले प्रस्तुत गरेको २ सय ३० रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ थालेको कमिन्स-११ निर्धारित २० ओभर पूरै खेल्दै आफ्नो सबै विकेट गुमाएर १ सय ९७ रनमा सिमित हुन् पुग्दा फेन्च -११ ले खेल ३२ रनले जितेको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यान मार्कस स्टोइनिसले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ६८ रनको योगदान गरे । ३७ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ७ चौका र ४ छ्क्कासमेत प्रहार गरे ।

यस्तै टिमका लागि अर्का ओपनर स्टिभ स्मिथले ४१ रन बनाउँदा कप्तान प्याट क्युमिन्सले पनि ३० रन थपेका थिए ।

बलिङमा फिन्च -११ का नाथन लायनले ४ तथा जोश हेजलवुडले ३ र एन्ड्रु टाईले २ विकेट लिएका थिए । यसअघि पहिलो अभ्यास टी- ट्वान्टी खेलमा पनि फिन्च -११ ले कमिन्स -११ लाई २३ रनले पराजित गरेको थियो ।

इंग्ल्यान्डसँग आउँदो शुक्रबार देखि सेप्टेम्बर १६ तारिखसम्म हुने तीन खेलको टी- ट्वान्टी र तीन खेलकै एकदिवसीय सिरिजका लागि अष्ट्रेलियन टोली अगस्ट २३ तारिखमा इंग्ल्यान्ड पुगेको थियो ।

सिरिज अन्तर्गत सुरुमा टी – ट्वान्टी हुनेछ । जसको सुरुवात सेप्टेम्बर ४ बाट हुनेछ । यस्तै दोस्रो खेल ६ तारिखमा र तेस्रो तथा अन्तिम खेल ८ तारिखमा हुनेछ ।

त्यसपछि एकदिवसीय खेल हुनेछ । विश्वकप छनोट अन्तर्गतको सुपर लिग अन्तर्गतको यस एकदिवसीय सिरिजको पहिलो खेल सेप्टेम्बर ११ तारिखमा , दोस्रो खेल १३ तारिखमा र १६ तारिखमा अन्तिम खेल हुनेछ ।

अष्ट्रेलियन टोली – आरोन फिन्च (कप्तान),सन एबट,एस्टन अगर,एलेक्स केरि,प्याट कमिन्स,जोश हेजलवुड,मार्नस लाबुसेन,नाथन लायन,मिचेल मार्श,ग्लेन म्याक्सवेल,राइली मेरीडिथ,जोश फिलिपे,ड्यानियल स्याम्स,केन रिचर्डसन,स्टिभ स्मिथ,मिचेल स्टार्क,मार्कस स्टोइनिस,एन्ड्रु टाई,म्याथ्यु वेड, डेविड वार्नर र एडम जम्पा

इंग्ल्यान्ड टी-ट्वान्टी टोली : इयोन मोर्गन(कप्तान) मोईन अली,जोफ्रा आर्चर,जोनाथन बेयरस्टो,टम बैन्टन,साम बिलिंग्स जोस बटलर,साम कुरान,टम कुरान,जो डेन्ली,क्रिस जोर्डन, डेविड मालन,आदिल रशीद र मार्क वुड

वैकल्पिक खेलाडी – लियाम लिभिङ्गस्टोन र साकिब महमूद

इंग्ल्यान्डको एकदिवसीय टोली : इयोन मोर्गन(कप्तान ), मोईन अली,जोफ्रा आर्चर,जोनाथन बेयरस्टो,टम ब्यान्टन,साम बिलिंग्स,जोस बटलर,साम कुरान,टम कुरान,आदिल रशिद, जो रूट,क्रिस वोक्स र मार्क वुड

वैकल्पिक खेलाडी – जो डेन्ली,साकीब महमूद