१९ वर्षीय हैदरको डेब्यु खेलमै सानदार प्रदर्शन
एजेन्सी । पाकिस्तान क्रिकेट टोलीका युवा खेलाडी हैदर अलिले आफ्नो डेब्यु खेलमानै सानदार प्रदर्शन गर्न सफल भएका छन् ।
मंगलबार राति इंग्ल्यान्डविरुद्ध टी- ट्वान्टी सिरिजको अन्तिम खेलमा उनलाई टिमले मौका दिएको थियो ।
जसअनुरुप उनि टिमको विश्वास प्रती खरो उत्रिन पनि सफल भए । पाकिस्तानले इंग्ल्यान्डमाथि ५ रनले विजयी हासिल गर्ने क्रममा हैदरले अर्धशतकीय पारी खेलेका थिए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हैदरले मोहम्मद हफिजलाई साथ दिने क्रममा ५४ रनको पारी खेलेका थिए । ३३बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ५ चौका र २ छ्क्का समेत प्रहार गरे ।
तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनि १४.३ ओभरमा टिमको स्कोर १ सय ३२ रन हुँदा क्रिस जोर्डनको बलमा आउट हुन् पुगेका थिए ।
मात्र १९ वर्षिय हैदरले अहिलेसम्म ८ फस्ट क्लास क्रिकेट र १६ टी- ट्वान्टी खेलेका छन् ।
यता इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी- ट्वान्टी सिरिज भने १-१ को बराबरीमा सकिएको छ ।
सिरिज अन्तर्गत यसअघि पहिलो खेल वर्षाका कारण नतिजा विहिन हुनु पुग्दा दोस्रो खेलमा भने इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । र तेस्रो खेलमा पाकिस्तान विजयी हुन् पुगेपछि सिरिज बराबरीमा सकिएको हो ।