अन्तिम खेलमा पाकिस्तानको रोमान्चक जित : सिरिज भने बराबरीमा
एजेन्सी ।इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी- ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको छ ।
मंगलबार राती भएको सिरिजको अन्तिम खेलमा पाहुना टोली पाकिस्तानले इंग्ल्यान्डलाई रोमान्चक बनेको खेलमा ५ रनले पराजित गरेसँगै सिरिज बराबरी हुन् पुगेको थियो ।
सिरिज अन्तर्गत यसअघि पहिलो खेल वर्षाका कारण नतिजा विहिन हुनु पुग्दा दोस्रो खेलमा भने इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो ।
यता खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९१ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ थालेको इंग्ल्यान्ड २० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ८५ रनमा सिमित हुन् पुग्दा नतिजा पाकिस्तानले आफ्नो पक्षमा पार्न सफल भयो ।
इंग्ल्यान्डका लागि अलराउन्डर मोइन अलिले सर्वाधिक ठूलो पारी खेले ।मध्य क्रममा ब्याटिङ गरेका उनले ३३ बलको सामना गर्दै ४ चौका र ४ छ्क्काको मद्दतमा ६१ रनको योगदान गरेका थिए ।
यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान टम ब्यान्टनले ४६ तथा साम बिलिंग्सले २६ रन बनाएका थिए ।
बलिङतर्फ पाकिस्तानका शाहिन अफ्रिदि र वाहब रियाजले समान २/२ विकेट लिएका थिए। भने इमाद वासिम र हरिस रउफले पनि १/१ विकेट हात पारेका थिए ।
त्यसअघि म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
ठूलो योगफल खडा गर्ने क्रममा पाकिस्तानका मोहम्मद हफिजले सर्वाधिक ठूलो पारी खेलेका थिए । अविजित रहेका उनले ५२ बलको सामना गर्दै ४ चौका र ६ छ्क्कासहित ८६ रनको योगदान गरेका थिए ।
यस्तै टिमका लागि हैदर अलिले ५४ रन तथा कप्तान बाबर आजमले २१ जोडे भने शादब खानले १५ रन जोड्दा इमाद वासिम ६ रनमा अविजित रहेका थिए ।
बलिङतर्फ इंग्ल्यान्डका क्रिस जोर्डनले २ तथा मोइन अलि र टम कुरानले पनि समान १/१ विकेट लिएका थिए ।
यसअघि यि दुई टोलीबीच तीन खेलको टेस्ट सिरिज भएको थियो । जसमा इंग्ल्यान्ड १-० ले विजयी भएको थियो ।जसअन्तर्गत सिरिजको पहिलो खेलमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो । भने दोस्रो खेल बराबरी हुन् पुग्दा अन्तिम खेल नतिजा विहिन भएको थियो ।
अब यस सिरिज सकिए लगत्तै इंग्ल्यान्डले अष्ट्रेलियालाई स्वागत गर्नेछ । अष्ट्रेलिया र इंग्ल्यान्डबीच तीन खेलको टी- ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज हुनेछ । जसको सुरुवात यहीँ शुक्रबारबाट हुँदैछ ।